विन्ध्यवासिनी म्यूजिक अवार्डमा ‘म हुरीमा दियो’लाई अवार्डको वर्षा,ढकाल उत्कृष्ट गायक
हेटौँडा, १७ पुस । मुक्तिनाथ विकास बैंकको प्रस्तुति ‘रमपम विन्ध्यवासिनी म्यूजिक अवार्ड’ मा गायक रामकृष्ण ढकाललाई उत्कृष्ट सुगम गायक घोषणा गरिएको छ । साथै गीतकार विरेन्द्र पाठकको ‘आज फेरि एकान्तमा’ बोलको गीत उत्कृष्ट गीत बन्न सफल भएको छ ।

ढकाललाई ‘म हुरीमा दियो’ बोलको गीतबाट सुगम संगीतमा उत्कृष्ट गायकको अवार्ड जितेका हुन् । त्यस्तै सोही विधामा गायिका तर्फभने श्रेयशी चेम्जुङ लिम्बु उत्कृष्ट गायिका भएकी छिन् । उनलाई ‘फुल्नु भन्दा त ’ बोलको गीतबाट उत्कृष्ट सुगम गीत गायन महिलातर्फ उत्कृष्ट घोषणा गरिएको हो । त्यस्तै सर्वोत्कृष्ट संगीतको रुपमा पनि ‘म हुरीमा दियो’ बाट नै संगीतकार राजेश थापाले अवार्ड जितेका छन् । त्यस्तै सर्वोत्कृष्ट रचनाका सुगम संगीततर्फ पनि सोही गीतले अवार्ड जितेको छ । सर्वोत्कृष्ट एल्बमका रुपमा पनि सोही गीत समावेश गायक रामकृष्ण ढकालको एल्बम ‘आवरण’ लाई घोषणा पनि गरिएको छ ।
त्यस्तै ‘संगै बाँच्ने कसम’ बोलको गीतबाट कमल सौरागलाई सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड दिइएको छ । पप गायन तर्फ भने सुरज कुमार थापा पुरुष तर्फ र महिला तर्फ आकांक्षा बस्यालले अवार्ड हात पारेका छन् । पप तर्फ नै सर्वोत्कृष्ट संगीतकारको अवार्ड राजु सिंहले हात पारेका छन् । सर्वोत्कृष्ट युगल गायनतर्फ मेलिना राई र एस.राजकुमारलाई अवार्ड दिइएको छ ।

सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड राजन गुरुङ र गायिकाको अवार्ड शर्मिला गुरुङले जितेकी छिन् । सर्वोत्कृष्ट लोकदोहोरी भाकामा संगीतकारको अवार्ड कस्तुप पन्त र रचनाकार तर्फ प्रल्हाद सुवेदीले अवार्ड हात पारेका छन् । सर्वोत्कृष्ट लोकदोहोरी गीततर्फ गीतकार र संगीतकार एकनारायण भण्डारीले अवार्ड जितेका छन् ।
सर्वोत्कृष्ट मोडल जोडीका रुपमा पप तथा आधुनिक भिडियो तर्फ दुर्गेश थापा र रोशिना एल.सी., सर्वोत्कृष्ट प्ले ब्याक सिंगर मेल तर्फ राजेश पायल राई र फिमेलतर्फ मीना निरौलालाई अवार्ड दिइएको छ । सर्वोत्कृष्ट चलचित्र संगीततर्फ राजनराज शिवाकोटी, सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीततर्फ विष्णु पौडेल, म्यूजिक भिडियो निर्देशन लोकदोहोरीतर्फ प्रकाश भट्ट र सुगम संगीततर्फ क्रान्ति के.सी.ले अवार्ड जितेका छन् ।

सर्वोत्कृष्ट छायाँकार (क्यामेरा पर्सन) म्यूजिक भिडियोतर्फ राजेश घिमिरे, सम्पादनतर्फ दिपक विष्ट, सर्वोत्कृष्ट रेकडिस्टतर्फ साजन शाह, नवप्रतिभा लोक तथा दोहोरीतर्फ युवराज मगर, म्यूजिक कम्पनी भावना म्यूजिक सोलुसन, मोडल जोडी लोकदोहोरी तर्फ रुपा कँडेल र देबेन्द्र क्षेत्रीले अवार्ड जितेका छन् । त्यस्तै सर्वोत्कृष्ट नवप्रतिभा पप तथा सुगम संगीततर्फ गुणराज श्रेष्ठ, महिला गीतकार सुगमतर्फ चन्द्रज्योती आलेले अवार्ड पाएका छन् ।

त्यस्तै विन्ध्यवासिनी म्यूजिक अन्तराष्ट्र्रिय संगीतकर्मी सम्मानबाट डिआर अटु, जुरी अवार्डबाट अजर जंगम र पब्लिक च्वाईस अवार्ड मोडल सारिका केसी र बिमल अधिकारीलाई प्रदान गरिएको छ ।
