अब एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने

काठमाडौं । अबदेखि एक जना व्यक्तिले प्रयोगकर्ताले एउटा मोबाइल सेवा प्रदायकबाट दुई वटाभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परिपत्र अनुसार, एक व्यक्तिको नाममा दुई वटा भन्दा बढी सिमकार्ड नदिन मोबाइल सेवा कम्पनीलाई निर्देशन दिइएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, अबदेखि एकवटा मोबाइल सेवा प्रदायक कम्पनीको बढीमा दुईवटा मात्रै सिमकार्ड निकाल्न पाइने छ । पहिले नै दुईभन्दा बढी सिमकार्ड लिइसकेका व्यक्तिले उक्त कम्पनीबाट अब सिमकार्ड किन्न पाउने छैनन् ।
हाल नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली प्रयोगमा ल्याउन सुरु गरेको छ । एमडीएमएस पूर्णरुपमा लागु भइसकेपछि नेपाल दूरसञ्चार प्राधिकरणले एक मोबाइल सेवा प्रदायकबाट एक व्यक्तिलाई अधिकतम दुईवटा मात्रै सिमकार्ड लिन मिल्ने गरी व्यवस्था गर्ने भएको हो ।
प्राधिकरणका अनुसार, नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल लगायतका मोबाइल सेवा प्रदायक (एमएनओ) हरुलाई परिपत्र नै पठाएर कुनै व्यक्तिको नाममा पहिले नै दुईभन्दा बढी सिमकार्ड जारी भइसकेको भए थप सिमकार्ड नदिन भनिएको छ । पहिले नै दुईभन्दा बढी सिमकार्ड लिइसकेकालाई तत्काल केही नगरिएको भएपनि एकै व्यक्तिले नयाँ सिमकार्ड लिँदा दुईभन्दा बढी सिमकार्ड लिन पाउने छैनन् । यही एकै व्यक्तिको नाममा धेरै सिमकार्ड भए त्यसलाई नियन्त्रण गर्ने तयारी प्राधिकरणले गरेको छ ।