कक्षा १२ को नतिजा भदौ १५ भित्रै सार्वजनिक गर्ने तयारी

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार १८:३१
file-photo

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल यही भदौ १५ भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म संचालन भएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

केही दिनमा प्राप्ताङ्क चढाउने काम सकिएपछि नतिजा प्रकाशित गरिने शर्माले बताए । यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गरिने परीक्षा नियन्त्रक शर्माले बताए । उक्त निर्देशिका अनुसार यस पालिको नतिजामा नन–ग्रेडिङ लागू हुनेछ ।

विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफत प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू हुनेछ । त्यस्तो भएमा विद्यार्थीले पुनः परीक्षा दिनुपर्नेछ । परीक्षा नियन्त्रक शर्माका अनुसार प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा कम अङ्क आएमा पुनः परीक्षा दिनुपर्नेछ ।

यसअघि माध्यमिक परीक्षा (एसईई) मा पनि यही नन– ग्रेडिङ लागू गर्ने भनिएको थियो । तर, अन्तिममा आएर रोकिएको थियो । यस वर्षको कक्षा १२ को परीक्षामा देशभरका ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।