बले र कक्रोजको उट्पट्याङले हेटौँडा हल्लायो
मकवानपुर, १३ पुस । हेटौँडामा जारी राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७४ मा आज हाँस्य टेलिचलचित्र ‘भद्रगोल’ टिमले हाँस्यव्यङ्ग्य प्रस्तुत गरेका छन् । चर्चित पात्र बले र कक्रोजले उट्पट्याङ र व्यङ्य प्रस्तुति दिएर दर्शकलाई हाँस्न बाध्य बनाए ।
त्यस्तै मेलामा खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिएपछि मेलाको रौनकता झन बढेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन मैदानमा जारी मेलाको सातौं दिन आयोजकले खेलकुदको गतिविधिलाई समेत प्राथमिकतामा राखेको हो । महोत्सवमा बिहीबार उसु खेलको प्रदर्शनी सम्पन्न भएको छ । महोत्सवमा खेलकुदसँगै सांगीतिक कोशेली प्रस्तुत भएपछि मेला भर्न आउनेको संख्यामा समेत बृद्धि भएको आयोजकको दाबी छ ।
महोत्सवमा उसुतर्फ १२ औँ साफ खेलकुदमा काँस्य पदक विजेता विजय सिञ्जाली मगर, राष्ट्रिय खेलाडीहरु पासाङ शेर्पा, सनी लामा, अजय तामाङ, छिरिङ लामा, अनिश राई, हिमाञ्चु खड्का तथा विशाल थापा सिञ्जाली टिम प्रशिक्षकले आफ्नो प्रदर्शनी देखाएका थिए ।
विहीबार महोत्सवमा आरम्भ व्याण्ड, राजतन्त्र व्याण्ड, हाँस्यकलाकार भद्रगोल टोली र गायक शिव हमालको विशेष प्रस्तुत रहेको थियो । मेलामा दैनिक सांगीतिक कार्यक्रम, फेशन शो, स्थानीय व्याण्डको प्रस्तुती समेत रहेको थियो । मेलामा बालवालिकाका लागि वाल उद्यान, दुईसय केजीको अष्ट्रिज, जाडोको कपडा तथा होटलका स्टलहरु रहेको छन् ।
महोत्सवमा भोलि शुक्रबार अञ्चलस्तरीय कराते प्रतियोगिता हुने आयोजक प्रतिष्ठान महासचिव सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार महोत्सवमा शुक्रबार ओम माने पेमे व्याण्ड, सिता प्रशाईं, लेखराज गुरुङ, सरिता प्रजापति, दोहोरी गायक जीवन परियार, हाँस्य कलाकार दिनेश काफ्ले र जादुगर बलराम सरकारको विशेष प्रस्तुती रहनेछ ।
२०७२ वैशाख १२ गतेको महाविनाशकारी भूकम्पमा परी निधन भएका खेल पत्रकारिता क्षेत्रमा क्रियाशील सुमन भोम्जनको स्मृतिमा महोत्सव तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता प्रतिष्ठानले गर्दै आइरहेको छ ।
मेला करिब दुई लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । फागुन ५ गतेबाट हेटौंडामा हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्न आर्थिक संकलन गर्न महोत्सव आयोजना गरिएको हो ।
