आउँदो साउनदेखि ढुंगा, गिटी वालुवाको कर गाउँपालिका र नगरपालिकाले उठाउने

तु खबर संवाददाता
२०७४ पुष १३, बिहीबार १४:५५
फोटो : गुगल

मकवानपुर, १३ पुस । जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ ढुंगा, गिटी वालुवामा लगाइ राखेको कर आउँदो साउनदेखि स्थानीय तह गाउँपालिका र नगरपालिकाले उठाउने भएको छ ।
यसका लागि सरकारले आवश्यक निर्देशन दिइसकेको छ । नगरपालिका तथा गाउँपालिकाले यससम्बन्धमा आवश्यक कानुनको निर्माण गर्नुपर्नेछ । नदीजन्य पदार्थ उत्खनन् गर्ने संभावित स्थानको वातावरणीय प्रभाव मूल्याकंन तयार गरी करको दररेटसमेत तोक्नुपर्ने छ । हेटौंडा उपमहानगरपालिकाका सहायक कार्यकारी अधिकृत देवराज चौलागाईका अनुसार, नगरपालिकाले आवश्यक तयारी थालिसकेको छ ।

नदीजन्य पदार्थहरुको बारेमा अध्ययन गर्न हेटौंडा उपमहानगरपालिकाका प्रवन्धक सत्यनारायण साह संयोजक रहेको समिति समेत बनाइएको छ । सो समितिले यसबारे आवश्यक अध्ययन गर्नेछ । त्यसपछि आउँदो आर्थिक बर्षदेखि ढुंगा, गिटी र वालुवाको कर नगर तथा गाउँपालिकाले संकलन गर्नेछन् । स्थानीय विकास मन्त्रालयले यसबारेमा नगर तथा गाउँपालिकालाई नमूना कानून पठाइसकेको छ । अब नगर तथा गाउँपालिकाले सो कानूनलाई आफ्नो नगर तथा गाउँपालिकाको सापेक्षेतामा निर्माण गर्नुपर्नेछ । संकलन गर्ने राजस्वको दररेट, नीति समेत कानूनको रुपमा नगर तथा गाउँपालिकाले बनाउनुपर्नेछ ।

यस आर्थिक बर्षको समापनसम्म जिल्ला समन्वय समितिले नै ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य पदार्थको ठेक्का बमोजिम कर संकलन गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*