मकवानपुरको हाँडीखोलामा महायज्ञ
मकवानपुर, ११ पुस । चुनावको क्रममा भएको वैमनश्यतालाई भुलाउँदै मन्दिरको जिर्णाेदारसंगै आश्रम निर्माणको लागि हाँडीखोलामा महायज्ञ लगाइने भएको छ ।
मनहरी गाउँपालिका–३ स्थित महेन्द्रज्योति उच्च माविको चौरमा माघ ४ गतेदेखि १० गते सम्म महायज्ञ लगाउने तयारी भएको छ । स्थानीय सञ्जीव पाठकको संयोजकत्वमा १ सय ५१ सदस्यीय श्रीमद् भागवत् सप्ताह ज्ञान महाज्ञ मूल आयोजक समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा योगमाया न्यौपाने, सचिवमा कृष्णहरि ढकाल, सहसचिव सृजना बिडारी र कोषाध्यक्षमा ध्र्रुब उप्रेती रहेका छन् ।
‘स्थानीय मन्दिरको जिर्णोदार र एउटा आश्रम निर्माणको लागि महायज्ञ लगाउन लागिएको हो’, मूल समारोह समितिका संयोजक पाठकले भने, ‘महायज्ञमा उधारो बोल्ने काम हुँदैन । जसले जति दान गर्न सक्नुहुन्छ नगद दान मात्रै लिनेछौँ ।’
वाचन शिरोमणि बालव्यास पण्डित सागर आचार्यले कथा वाचन गर्ने जानकारी दिइएको छ । महायज्ञको लागि विभिन्न उपसमितिहरु समेत गठन भएको छ । महायज्ञको आवश्यक तयारी अघि बढाइसकेको मूल आयोजक समिति संयोजक पाठकले बताए ।
