आर्थिक अवस्था कमजोर भएपछि सहयोग माग्दै मुटु रोगी
मकवानपुर, ९ पुस । आर्थिक अवस्था कमजोर भएका कारण नियमित उपचारमा समस्या भएपछि मुटुरोगी समिर दुलाल ( खिकाप्रसाद दुलाल )ले सहयोगको लागि आग्रह गरेका छन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ आल्दमार निवासी ३१ वर्षीय दुलालकी श्रीमतीलाई समेत श्रीमानको उपचार कसरी गर्ने भन्ने समस्याले पिरोलेको छ । भर्खरै कखरा सिक्दै गरेकी ६ वर्षकी छोरी अनि काखैमा खेलिरहेका डेढ वर्षीय छोरालाई काखी च्याप्दै उनी जसोतसो श्रीमानको उपचारमा जुटेकी छिन् ।
मुटु रोगबाट पिडीत दुलालको ४–५ महिना अगाडि मात्रै मुटुको एउटा भल्व फेरिएको थियो भने अर्को भल्वको भने उपचार मात्र गरिएको थियो । त्यस समयमा समेत उपचारका लागि लाखौँको ऋण लिएका दुलाल दम्पत्तिलाई ऋण तिर्न पनि घरबारै बेच्नुपर्ने अवस्था छ । झन् त्यसमाथि तोकिएकै समयमा नियमित रुपमा ईको जाँच लगायतका मुटुको अवस्था पत्ता लगाउन गरिने जाँचका लागि तिर्नुपर्ने शुल्कका कारण उनीहरु थप पिडामा परेका छन् ।
अहिले नियमित औँषधी खान पनि पैसा नभएपछि उनीहरुले सहयोगका लागि आग्रह गरेका हुन् । उनीहरुले बैंक अफ काठमाण्डुको हेटौँडा शाखामा रहेको खिकाप्रसाद दुलालको खाता नम्बर ०३०४०००००१६२५२४ मा सकेको सहयोग गरिदिन आग्रह गरेका छन् । साथै सहयोगका लागि स्थानीय रामहरी पोखरेलको फोन नम्बर ९८४५१२६४२७ मा समेत फोन गरी सहयोग गरिदिन उनीहरुले आग्रह गरेका छन् ।
