हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा विस्तार गर्न ८ करोड बजेट विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयको लागि ४ अर्ब ८९ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रको विकासका लागि उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।
हेटौडा, भक्तपुर, त्रिशूली, सिन्धुली, धादिङ्ग, बकुलहर र पशुपति चौलागाँई स्मृति अस्पताललाई क्रमशः स्तरोन्नति गरी विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण, विशेषज्ञ चिकित्सक सहितको जनशक्ति, सुविधा सम्पन्न प्रयोगशालासहितको भौतिक पूर्वाधारको व्यवस्था गर्न बजेट व्यवस्था गरिएको छ । यी अस्पतालहरुबाट महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि मेमोग्राफि मेसिन मार्फत निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था मिलाउने सरकारको तयारी रहेको छ ।
नसर्ने रोगहरुको कारण वर्षेनी ठूलो संख्यामा ज्यान गुमाउनु परेको र महंगो उपचार गर्नु पर्ने वाध्यता रहेकोले त्यस्ता रोगहरुको शुरु अवस्थामा नै निदान गर्न प्रदेश भित्रका अस्पताल र स्थानीय तहको सहकार्यमा स्वास्थ्य परीक्षण गरी रोगको पहिचान गर्न बजेट व्यवस्था गरिएको छ । जसमा रगत, ग्लुकोज, दिसा पिसाब, कलेजो, फोक्सो, मृगौला, महिलामा हुने क्यान्सर लगायतको निःशुल्क परीक्षण गरिने छ ।
‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयघात, मस्तिष्कघात र अब्स्ट्रेटिक फिष्टुला लगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियतका लागि रकम विनियोजन गरिएको छ । प्रदेशवासीलाई क्यान्सर उपचारमा दिइदै आएको प्रति बिरामी पचास हजार सहुलियत दिने कार्यक्रमलाई निरन्तरता दिन १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सबै अस्पतालबाट मृगौला रोगीका लागि निःशुल्क डायलासिस सेवा विस्तार गर्न आवश्यक बजेट व्यवस्था गरेको गरिएको छ ।
हेटौडा अस्पताललाई दुई सय बेडको अस्पतालमा स्तरोन्नति गर्न तथा शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा समेत विस्तार गर्न ८ करोड रुपैयाँ विनियोजन गरिएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विस्तार र सुदृढीकरण गरी प्रतिष्ठान अन्तर्गतको आफ्नै अस्पताल स्थापना प्रक्रिया अघि बढाउन, प्रतिष्ठानको लागि १९ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश भित्र रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य उपचार सम्बन्धी आधुनिक औजार तथा उपकरण खरीद तथा मर्मत सम्भार र पर्याप्त औषधिको व्यवस्था गर्न ३८ करोड २ लाख विनियोजन गरिएको छ ।
प्रदेशका सबै अस्पतालहरूमा शल्यक्रिया सहितको सुत्केरी तथा नवजात शिशु सेवा प्रदान गर्न बजेट व्यवस्था गरिएको छ । प्रदेश मातहतका १३ वटा जिल्ला स्थित प्रदेश अस्पतालमा लागु गरिएको न्युनतम सेवा मापदण्ड कार्यक्रमलाई निरन्तरता दिदै आगामी आर्थिक वर्षमा ११९ स्थानीय तहमा विस्तार गर्ने, न्यनतम सेवा मापदण्डमा तोकिएका औषधि, औजार तथा उपकरणको व्यवस्थापन, मर्मत संभार तथा सञ्चालनका लागि १६ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
किशोर किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन तथा परामर्श सेवा प्रदान गर्न संचालित ‘एक माध्यामिक विद्यालय एक नर्स’ कार्यक्रमलाई आगामी वर्ष थप साठी विद्यालयमा विस्तार गर्न २८ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश भित्रका स्थायी बासिन्दाहरुका लागि रगत, ब्लड व्याग र परिक्षण शुल्कमा सहुलियत दिई निःशुल्क रक्तसंचार सेवा प्रदान गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ चिकित्सक लगायतका स्वास्थ्यकर्मी अभावका कारण सेवा प्रभावित हुन नदिन स्थायी पदपूर्ति नभएसम्मका लागि करारबाट जनशक्ति आपुर्ति गर्न २७ करोड रुपैयाँ विनियोजन गरिएको छ । चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई सरकारी सेवामा आकर्षित गरी समयानकल ज्ञान र सीप अभिवृद्धि गर्ने तालिम सञ्चालन गर्न ५ करोड ७ लाख रुपैयाँ विनियोजन गरिएको छ । रोग निदान कार्यलाई अझ भरपर्दो, विश्वासिलो र गुणस्तरीय बनाउन बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकास तथा सेवा विस्तारका लागि २ करोड ९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
चितवनको रत्ननगरमा आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालन गर्न ३ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ । मकवानपुर, ललितपुर र चितवनस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नति गर्न भौतिक पूर्वाधार विकास निर्माणका लागि १२ करोड विनियोजन गरिएको छ ।
