मकवानपुर उद्योग वाणिज्य संघमा राउत र कटुवालबीच टक्कर चल्दै
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा वर्तमान महासचिव महेन्द्र राउत र बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालबीच तिब्र भिडन्त पर्ने देखिएको छ । वर्तमान अध्यक्ष राजकुमार न्यौपाने, कृष्णकुमार अग्रवाल, उज्जवल चौलागाई लगायतको टिमले राउतलाई समर्थन गर्ने बताएपछि कटुवाल पनि चुनावी प्रचारमा होमिएका छन् । उता, राउत पनि व्यवसायीबीच पुगिरहेका छन् ।
आफूले दीर्घकालिन योजना बनाएर व्यवसायीको हितमा काम गर्ने राउतको भनाइ छ भने कटुवाल पनि यस्तै योजना लिएर अघि बढीरहेका छन् । उनी पनि व्यवसायीबीच व्यवसायीको हक हितको लागि काम गर्ने धारणा राख्दै आएका छन् ।
२५ मिटर प्रकरण होस् चाहे जुनसुकै समस्यामा होस् आफूले रातदिन नभनी व्यवसायीको हितमा काम गरेकोले व्यवसायी आफ्नो नेतृत्व देख्न इच्छुक रहेको धारणा राउतले पत्रकार सम्मेलनमार्फत् व्यक्त गरिसकेका छन् । मनहरी पुगेर राउतले व्यवसायीको समर्थन माग गरेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन परिणाम जहिल्यै पनि सोचेभन्दा फरक आउने गरेको परिप्रेक्षमा यसपटक कसले बाजी मार्ने हो त्यो त चुनावी परिणामले नै निश्चित गर्ला ।
