‘व्यापारीको पीडा व्यापारीले नै बुझ्छ’–रवि कँडेल
मकवानपुर, ४ पुस । मकवानपुर उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिमा वाणिज्य तर्फका सदस्य भएका रवि कँडेलले पूनः वाणिज्य तर्फ नै सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आफ्नो कार्यकालमा समेत सफल निर्णयहरु गराउन भूमिका खेलेका उनले व्यापारीको पिडा व्यापारीले नै बुझ्नै भन्दै आफु उद्योग र व्यापारको हितमा विभिन्न कार्यहरु गर्ने उदेश्यसहित पूनः वाणिज्यतर्फ सदस्य उठेको बताए ।
‘एउटा व्यापारीको मर्म अर्को व्यापारीले नै बुझ्न सक्छ, त्यसैले म फेरि उम्मेदवार बनेको छु ।’ तु खबरसँग कुरा गर्दै कँडेलले भने ।‘मैले पहिलो कार्यकालमा पनि राम्रो प्रभावसहित बलियो उपस्थित जनाउन सकेकोले मलाई सदस्यकै रुपमा जितोस् भन्ने चाहाना धेरैको पाएको छु ।’ उनले भने ।
त्यसो त उनी व्यापारमा मात्र नभई सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले व्यापार क्षेत्रमा लागिपरेको २२ वर्ष पुगीसकेको छ भने सामाजिक क्षेत्रमा लागेको पनि १५ वर्ष भएको बताए । उनी लायन्स क्लब अफ मकवानपुरको पूर्व अध्यक्ष समेत हुन् भने हाल डिस्ट्रिक्ट ३२५बी२ को रिजन चेयर पर्सन समेत छन् । उनी बस्तिपुर जेसिजमा सदस्यका रुपमा पनि सरिक छन् ।
उनी खेलकुद तथा साहित्य र कलाका क्षेत्रमा समेत आवद्ध छन् । हाल उनी नेपाल ब्याटमिन्टन संघ मकवानुर शाखाका सचिवका रुपमा छन् भने भिम विराग साहित्य कला प्रतिष्ठान र मातृभूमि साहित्य समाजमा सदस्य छन् ।
‘मउवा संघलाई राजनीतिको अखडा बनाउन दिन्न’
तु खबरसँगको कुराकानीमा उनले मकवानपुर उद्योग वाणिज्य संघलाई राजनीतिको अखडा बन्न नदिन पनि आफ्नो उम्मेदवारी रहेको बताए । संघलाई विशुद्ध उद्योगी व्यापारीको संस्था बनाउन आफु सधैँ लागिपर्ने उनको भनाइ छ । आईएसओमा मान्यता समेत पाएको संस्था कुनै राजनीतिक पार्टीको भातृ संगठन जस्तो हुन नहुने उनको बुझाई छ । त्यसैले संघको गरिमा जोगाउनका लागि लागीपर्ने उनको योजना छ ।
‘देश विकासकालागि कर तिर्ने उद्योगीलाई सरकारले के दियो ?’
तु खबरसँग कुराकानी गर्दै कँडेलले उद्योगी व्यापारीहरुले अण्डर बिलिङ, भ्याट लगायतका समस्या भोग्दै आएको बताउँदै देश विकासका लागि करोडौँ कर तिर्ने उद्योगी व्यापारीको हितमा सरकारले केही गर्न नसकेको आरोप लगाए । अहिले पनि विभिन्न वाहानामा छापा मार्ने भन्दै व्यापारीहरुलाई पटक–पटक दुःख दिने गरेको उनको भनाइ छ ।
विभिन्न समूहका साथै सरकारी निकायले समेत व्यापारीहरुलाई गलत नजरले हेर्ने र तल्लो स्तरको सोच्ने गरेको भन्दै उनले यस्ता कुराहरुको अन्त्यका लागि आफुसहितको टिम लागिपर्ने बताए । पीडित व्यापारीको मनोभावनालाई बुझेर कार्य गर्ने योजना बनाएका उनले आफु संघको साझा क्याण्डिीडेट भएको समेत बताए । सदस्य पदका लागि उनलाई अग्रजका साथै समकक्षी र मिडियाबाट समेत सकरात्मक टिप्पणी आएको भन्दै आफु एकचित्त भएर सदस्य बन्न तयार भएको उनले बताए ।
उनले उद्योग वाणिज्य संघ छाता संगठन भएकोले अध्यक्ष चुन्दा समेत ध्यान दिनुपर्ने बताए । उद्योगी व्यापारीको समस्या बुझ्ने, सामाजिक उत्तरदायीत्व बहन गर्न सक्ने, खारिएको प्रखर दिग्गजलाई छानेर अध्यक्ष बनाउनुपर्ने धारणा उनले राखे । साथै मकवानपुरको उद्योग र व्यापारको अवस्था राम्ररी बुझेका तथा उनीहरुको विकास लागि ठोस योजना ल्याउन सक्ने उम्मेदवारले नै संघको गरिमा बढाउन सक्ने भएकोले त्यस्तै उम्मेदवारलाई अध्यक्ष पदमा जिताउन समेत उनले आग्रह गरे ।
उनले उल्लेखित गुणका साथै आर्थिक पारादर्शितामा समेत ध्यान दिने उम्मेदवारलाई अध्यक्ष चुन्न समेत सम्पूर्ण दल, अग्रज, उद्योगी व्यापारी, संघसंस्था र मिडियालाई आग्रह गरे ।
आउँदो पुस १५ गतेबाट सुरु हुने संघको निर्वाचनको लागि मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि कृष्ण कटुवाल र महेन्द्र राउतको भिडन्त हुने पक्कापक्की भइसकेको छ । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वर्तमान अध्यक्ष राजकुमार न्यौपाने तथा उपाध्यक्ष कृष्ण अग्रवालले उम्मेदवारी फिर्ता लिइसकेका छन् । वर्तमान उपाध्यक्ष समेत रहेका अग्रवालले पुन वाािणज्य तर्फको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
