नगरपालिकाको कार्यालय सारेपछि वडाध्यक्ष विरोधमा

तु खबर संवाददाता
२०७४ पुष २, आईतवार १९:१३
तस्बिर–गुगल

रुकुम, २ पुस । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकाको कार्यालय सारेपछि वडाध्यक्षले विरोध गरेका छन् । आफूहरूलाई कुनै जानकारी नदिएर मुसिकोट नगरपालिका– १ खलंगामा रहेको कार्यालय वडा नं ५ को सेरीगाउँमा सारेको भन्दै वडा नं १, २ र ३ का अध्यक्षले विरोध गरेका हुन् ।

पहिले पनि नगरपालिकाको कार्यालय सार्ने कुरा उठेको थियो तर हामीले विरोध गरेपछि हामीबीच दुई बुँदे सहमति भएर नसार्ने कुरा भएको हो अहिले कसरी एक्कासी हामीलाई कुनै जानकारी नदिएर नगरपालिकाको कार्यालय सारिएछ हाम्रो यसमा सहमत छैन, वडा नं २ का वडाध्यक्ष काशिराम खड्काले भन्नुभयो । नगरप्रमुखले आफ्नै घर नजिक कार्यालय लिएको उहाँको आरोप छ ।

नगरपालिकाको कार्यालय वडा नं ५ सेरीगाउँमा रहेको जिल्ला कृषि विकास कार्यालयको भवनमा सारिएको छ । पहिलेको ठाउँमा बसेर काम गर्न ठाउँ अभावका कारण निकै समस्या भएपछि कार्यालय सारिएको नगर प्रमुख देविलाल गौतमले बताउनुभयो ।

नगरकार्यपालिकाका बहुमत सदस्यको सहमतिमा कार्यालय सारिएको र कसैले विरोध गर्न नहुने उहाँको भनाइ छ । “बाध्यताका कारण कार्यालय सारेको हुँ यदि कसैले पाँच रोपनी जग्गा उपलब्ध गराउँछ भने विरोध गर्नेले भनेकै ठाउँमा कार्यालय लान्छु”– उहाँले भन्नुभयो ।-रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*