हेटौँडामा यात्रु ठग्ने सुमो चालकदेखि टिकट बेच्नेसम्म पक्राउ

तु खबर संवाददाता
२०७४ पुष २, आईतवार १७:३७

मकवानपुर, २ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मुख्य बजारबाट काठमाडौँसम्म पुग्ने सुमो चालकदेखि टिकट काउन्टरले यात्रु ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट मंसिर २९ गते सादा पोषाकमा खटिएका प्रहरी टोलीले तोकिएको भन्दा बढी भाडा असुल गर्ने व्यक्तिहरु सवारी साधन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले ना. १ ज.२४४० नम्बरको सुमोका चालक २१ वर्षीय राजु प्रसाद थपलियालाई पक्राउ गरेको छ । उनी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्छन् । त्यस्तै ना १ ज. ६२५० नम्बरको सुमोका चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ३४ वर्षीय सुकबहादुर थिङ,बा. १५ च. ९०३८ नम्बरको स्कारपियोका चालक नुवाकोट जिल्लाको वेलकोट ८ बस्ने वर्ष ५० वर्षीय नरबहादुर नेपाललाई समेत पक्राउ गरेको छ ।

त्यस्तै टिकट काउन्टरमा टिकट बेच्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ३० वर्षीय दिपक लामा र वडा नम्बर १ बस्ने वर्ष ३७ को धिरव राजथलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

हेटौँडा १ स्थित सडक खण्डमा हेटौडाबाट काठमाण्डौ जान लागेको सुमो सवारी साधनमा सवार यात्रुहरुलाई भाडाको बारेमा सोधपुछ गर्ने क्रममा तोकिएको भन्दा बढी भाडा असुल गरेको खुल्न आएकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ बमोजिम जिल्ला प्रशासन कार्यालय, मकवानपुर बाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*