मनहरीदेखि राक्सिराङसम्म पुग्ने मोटर बाटो निर्माण शुरु
मकवानपुर, २९ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका हुँदै राक्सिराङ पुग्ने मोटरबाटो निर्माणको काम सुरु भएको छ । मनहरीबाट प्याङ्चे हुँदै राक्सिराङको चैनपुर जाने सडकको बिहीबार राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका हुन् ।
मोटरबाटोको रुपमा विकास गर्ने लक्ष्यसहित २०३४ सालबाट निर्माण कार्य थालनी गरिएको बाटो अहिले गोरेटोको रुपमा रहेको छ । अहिले मानिस हिँड्न समेत निकै अप्ठेरो रहेको बाटोलाई फराकिलो बनाएर ३ महिनाभित्र राक्सिराङ गाउँपालिकाको केन्द्रमा मोटर पु¥याउने लक्ष्यसहित काम अघि बढाइएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । बाटो निर्माणको लागि गाउँपालिकाले एक करोड १७ लाख विनियोजन गरेको थियो ।
‘२०३४ सालमा खनेको बाटो अहिले गोरेटेको रुपमा रहेको छ । मान्छे हिँड्न समेत निकै कष्ट हुने बाटोलाई फराकिलो बनाएर गाडी गुड्न मिल्ने बनाइनेछ’, गाउँपालिका अध्यक्ष मल्लले भने, ‘बाटो राम्रो नहुँदा बर्षाको समयमा खोलाबाट हिँड्नुपर्ने हुँदा धेरैको ज्यान जाने अवस्था रहेको थियो ।’ ६ किलोमिटर बाटो निर्माणको लागि मनहरीबाट प्याङ्चे र प्याङ्चेबाट चैनपुर गरी २ भागमा विभाजन गरी २ वटा निर्माण उपभोक्ता समिति बनाइएको छ ।
बाटोको शिलान्यासमा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, राक्सिराङ ४ र ५ नम्बर वडा अध्यक्ष चन्द्रसिँह प्रजा र रामकृष्ण प्रजा, निर्माण उपभोक्ता समूहका अध्यक्षद्वय खुसीलाल प्रजा र दीपक प्रजालगायतले बाटो निर्माणपश्चात राक्सिराङ गाउँपालिकाको केन्द्रबाट व्यापारिक केन्द्र मनहरी तथा बजारसम्म आवतजावन गर्न सहज हुने धारणा राखेका थिए ।
