स्थानीय निर्वाचन: मकवानपुरगढीमा कांग्रेसको संभावना बलियो
मकवानपुर । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि मकवानपुरमा पनि चुनावी सरगर्मी सुरु भएको छ । जिल्लाको १० वटै स्थानीय तहको विभिन्न पदमा राजनीतिक दलका नेताहरुले उम्मेदवारीको लागि आकाँक्षा देखाउन थालिसकेका छन् । चुनाव लक्षित गतिविधिलाई तीव्र पार्नुको साथै पार्टीभित्र टिकटको लागि लभिङ गरिरहेका छन् ।
स्थानीय निर्वाचनको सन्दर्भमा तु खबरले केही दिन अघि हेटौंडा उपमहानगरपालिकामा कुन दलको अवस्था कस्तो छ भनी विश्लेषण गरेको थियो । आज राजनीतिक र ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी गाउँपालिकामा राजनीतिक दलको अवस्थाबारे केही बुझ्ने प्रयास गरिएको छ । स्थानीय निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसबाट आकाँक्षा देखिएको छ । यसबाहेक एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि आकाँक्षा देखिएको छ । मकवानपुरगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भूमिका निर्णायक दलको रुपमा देखिन्छ ।
२०७४ साल जेठमा सम्पन्न निर्वाचनको नतिजा हेर्दा हाल केन्द्र सरकार र ७ वटै प्रदेशमा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमाले तत्कालिन समयमा मकवानपुरगढी गाउँपालिकामा सबैभन्दा बलियो दलको रुपमा रहेको देखिन्छ । एमालेबाटै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कूल ८ मध्ये ४ वडाअध्यक्ष निर्वाचित भएका थिए । बाँकी ४ वडामा नेपाली कांग्रेसले जित हात पारेको थियो भने माओवादीले कुनै पनि वडाको नेतृत्व गर्न सकेन ।
अध्यक्ष र उपाध्यक्ष पदमा झिनो मतले कांग्रेस पराजित
२०७४ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट पालिका अध्यक्षकोे उम्मेदवार विदुर हुमागाईँले ३ हजार ८१४ मत प्राप्त गरी जित हाँसिल गरे । कांग्रेसका दोर्जे लामा स्याङ्तानले ३ हजार ६५३ मत प्राप्त गर्दा माओवादीका भीम पाख्रिनले १ हजार ६३३ मत पाए । त्यस्तै राप्रपाका खिलप्रसाद चौलागाईँले ९५० मत र तत्कालिन संघीय समाजवादी फोरमका रुद्र नारायण चौँलागाईले १४ मत ल्याएका थिए ।
एमाले विभाजनपछि अहिले नेकपा एकीकृत समाजवादीको पालिका कमिटी गठन भएको छ । यससँगै स्थानीय निर्वाचनमा एमालेको मत घट्ने निश्चित छ । २०७४ मा झिनो मतले अध्यक्षमा पराजित भएको कांग्रेस २०७९ सम्ममा सबैभन्दा बलियो दलको रुपमा उभिँदैछ । त्यस्तै एमालेबाटै उपाध्यक्षको उम्मेदवार बनेकी हर्कमाया रुम्बाले ३ हजार ७१७ मत सहित जित हासिँल गरिन् । कांग्रेसकी मन्दिरा केसीले ३ हजार ७०७ मत ल्याइन् । १० भोटले उपाध्यक्ष पदमा कांग्रेस चिप्लियो थियो । माओवादी केन्द्रकी राधिका तिमल्सिनाले १ हजार ५ सय ९९ मत पाइन् भने राप्रपाकी हिरादेवी हुमागाईँले ८९८ मत ल्याइन् ।
कांग्रेस र एमालेको ४/४ वडा अध्यक्ष, माओवादी र राप्रपाको शुन्य
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा झिनो मतले चिप्लिएको कांग्रेसले वडा तहमा भने बलियो उपस्थिति देखायो । एमाले र कांग्रेसले ४/४ वटा वडाअध्यक्ष पद जित्दा माओवादी र राप्रपाले भने कुनै पनि वडामा नेतृत्व गर्न सकेन । वडा नम्वर १ मा कांग्रेसका आइत सिं लोले ४६५ मत ल्याएर निर्वाचित भए भने एमालेका फूलमान गोलेले ३३६ मत पाए । माओवादीका बलबहादुर थिङ्ले ८५ मत पाउँदा राप्रपाका ध्वजबहादुर भोम्जनले २८ मत पाए । २ नम्वर वडामा कांग्रेसका बखान सिं पाख्रिनले ७०१ मत ल्याएर निर्वाचित हुँदा एमालेकी माया तामाङले ३९८ मत पाइन् । माओवादीका प्रेमचन्द्र मगरले १८९ र राप्रपाका अर्जुनप्रसाद गौतमले १६९ मत ल्याए ।
त्यस्तै ३ नम्वर वडामा एमालेका भागवत घिमिरे ७०० मतसहित निर्वाचित भए । कांग्रेसका विष्णुप्रसाद न्यौपानेले ५५४, माओवादीका कृष्णप्रसाद दाहालले ६९ र राप्रपाको राजकुमार दुलालले १५३ मत पाए । ४ नम्वर वडामा पनि एमालेकै रामप्रसाद तिमल्सिनाले ३३६ मतसहित जित हासिंल गरे भने कांग्रेसका लोकनाथ पाण्डेले २११, राप्रपाका चुडाबहादुर बञ्जाराले २७९ र माओवादीका हेमबहादुर योञ्जनले २७७ मत पाए ।
५ र ६ नम्वर वडामा पनि एमालेकै उम्मेदवारले नेतृत्व पाए । ५ नम्वरमा एमालेका जितबहादुर घिमिरेले ७७२, कांग्रेसका दीर्घबहादुर थापाले ४७४, माओवादीका युवराज सापकोटाले ३६४ र राप्रपाका जयराम तिमल्सिनाले ६८ मत पाए । ६ नम्वर वडामा एमालेका टिकाबहादुर दाहालले ५७३, कांग्रेसका कृष्णप्रसाद बजगाईँले ५२६ माओवादीका लिलानाथ न्यौपानेले १०१ र राप्रपाका काजीबहादुर बुढाथोकीले ८८ मत ल्याए ।
वडा नम्वर ७ मा कांग्रेसका सुर्यबहादुर रुम्बा ५०८ मतसहित निर्वाचित भए । एमालेका विरबहादुर रुम्बाले २५४, माओवादीका प्रकाश योञ्जनले ३५८ र राप्रपाका सिंहबहादुर मुक्तानले १३१ मत ल्याए भने वडा नम्वर ८ मा कांग्रेसका कुमार सिं घिसिङले ३७० मतसहित नेतृत्वको जिम्मेवारी पाए । एमालेका एक्काबहादुर थिङले २७७, माओवादीका रोलबहादुर गोलेले १४७ र राप्रपाका सिताराम पुडासैनीले १५ मत पाए ।
कांग्रेसको संभावना बलियो, माओवादी विरासत जोगाउँदै
अघिल्लो स्थानीय निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा झिनो मतले पराजय व्यहोरेको कांग्रेसले संगठन विस्तारको कार्यलाई तीव्र पारेको छ । बलियो प्रतिस्पर्धीको रुपमा देखिएको एमाले हाल विभाजित अवस्थामा छ । नेकपा एकीकृत समाजवादीमा एमालेको केही मत जाँदा कांग्रेसको संभावना बढेर जाने देखिन्छ । यता माओवादी केन्द्रको अवस्था भने उस्तै छ । माओवादी एक्लै निर्वाचनमा जाँदा पालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष पदमा निर्वाचित हुने संभावना न्यून छ । आउँदो निर्वाचनमा माओवादीले आफ्नो विरासत जोगाउनेबाहेक ठूलो उपलब्धी गर्न सक्दैन । अन्य दलसंगको गठबन्धन भएमा, माओवादीले पनि केही वडा जित्नसक्ने संभावना भने रहन्छ ।
मकवानपुरगढीमा राप्रपा निर्णायक भूमिकामा छ । प्रभावशाली नेताको रुपमा पहिचान बनाएका खिलप्रसाद चौँलागाईँको पक्कडमा झण्डै एक हजार मत रहेको छ । तर, पूर्व केन्द्रीय अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेसँगै निराश भएका राप्रपाका कार्यकर्ताहरु पनि कांग्रेसमा प्रवेश गर्नेक्रम भने बढ्दो छ ।



