अमेरिकाद्वारा आफ्ना नागरिकलाई युक्रेन छाड्न निर्देशन
काठमाडौं । अमेरिका सरकारले आफ्ना नागरिकहरुलाई युक्रेन छनड्न निर्देशन दिएको छ । रुस र युक्रेनबीच तनाव बढीरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको हो । अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरुलाई युक्रेन छाड्न भनेको हो ।
युक्रेनमा रहँदै आएका आफ्ना नागरिकहरुलाई पनि युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले भनेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको भन्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बीबीसीले जनाएको छ । यद्यपि रुसले भने युक्रेनमा आक्रमण गर्ने योजनाको खण्डन गर्दै आएको छ । रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । रुसविरुद्ध उभिएको अमेरिकाले हालै युक्रेनमा हतियारसहितका सहायता सामग्री पठाएको थियो ।
