प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान

तु खबर संवाददाता
२०७४ मंसिर २०, बुधबार १६:४५

काठमाडौँ, २० मंसिर/रासस : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन् ।

विज्ञप्तिमा उनले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ – “सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु ।”

नेपालको संविधानअनुसार भोलि मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हँुदैछ । यसअघि मंसिर १० गते उच्च पहाडी र हिमाली ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ ।

प्रधानमन्त्री देउवाले प्रथम चरणको निर्वाचनमा यस्तै आह्वान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*