निर्वाचन कार्यालयमा भेट्टिएको बम सेनाद्वारा निष्क्रिय

तु खबर संवाददाता
२०७४ मंसिर ७, बिहीबार १५:२७
तस्बिर–गुगल

नुवाकोट, ७ मंसिर । जिल्ला निर्वाचन कार्यालय नुवाकोट परिसरमा भेट्टिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।

निर्वाचन कार्यालयको मूल ढोकाअघिको परिसरस्थित मतदान केन्द्रमा निर्वाचन गराउने कर्मचारीलाई निर्वाचन सामग्री वितरण भइरहेको स्थानमा देखिएको बम श्रीनाथ गण देवीघाटको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

आज बिहान ६ बजे निर्वाचन कार्यालयमा बम राखेको खबर आएपछि सुरक्षाकर्मीले खोजतलास गर्दा केही नभेट्टिएको भन्दै निर्वाचन सामग्री वितरणको काम जारी रहेको समयमा ९ बजे बम देखिएको थियो । निर्वाचन कार्यालयका कर्मचारी सुमन केसीले बम जस्तो शंकास्पद वस्तु देखेपछि प्रहरीको सहयोगमा नेपाली सेनाको टोलीले बमको पहिचान गरी सुरक्षित रुपमा निष्क्रिय बनाएको हो ।

बम रहेको स्थान जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट सय मि.को दूरीमा पर्दछ । निर्वाचनको मिति नजिकिएसँगै नुवाकोटमा बम विस्फोट र भेट्टिने क्रम बढेको छ । गए राति किस्पाङ–२ फिकुरमा प्रेसरकुकुर बम विस्फोट थियो भने बुधबार बिहान नै सिक्रेमा काँग्रेस नेताको घरमा दुई थान सुतली बम भेट्टिएको थियो । यसअघि गएको शुक्रबार पनि ककनीमा काँग्रेस उम्मेदवार डा रामशरण महतलाई लक्षित गरी बम विस्फोट हुँदा पाँचजना घाइते भएका थिए । -(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*