मेगा बैंकले १२ प्रतिशत लाभांश दिने

रासस
२०७८ कार्तिक २३, मंगलवार १७:३६

काठमाडौँ । मेगा बैंकले आफ्ना शेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको रु १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार रु एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० बराबरको लाभांश शेयर दिइनेछ । लाभांश शेयर वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको ११ औँ साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने बैंकका वरिष्ठ नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिए ।

माइक्रोबस दुर्घटना, १९ जना घाइते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सागाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् । घाइतेलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । चौताराबाट काठमाडैँ जाँदै गरेको बा २ ख २६१२ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब आठ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका तीन बालबालिकासहित २० जना सवार रहेकोमा एक जना सकुशल रहेको छ । दुर्घटनाको बारेका अनुसन्धान भइरहेको बताइएको छ ।