केही दिनमा नै टिमसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नेछु – पूर्व महासचिव राउत
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा पूर्व महासचिव एवम् व्यवसायीका नेता महेन्द्र राउतले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
केही दिनमा नै आफ्नो टिमसहित उम्मेदवारी घोषणा गर्ने उनले बताए ।
तु खबरसंग संक्षिप्त कुराकानी गर्दै राउतले अघिल्लो निर्वाचनमा आफुलाई प्राप्त भएको मत र मतदाताको सम्मानका लागि भएपनि आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी रहने बताए ।
‘महेन्द्र राउतले समग्र व्यवसायिक हितको काम गर्छ, भन्ने विश्वासका साथ व्यवसायी साथीहरुले मलाई अत्याधिक मत दिनुभएको थियो तर, प्राविधिक कारणले जित हाँसिल गर्न सकिन । मेरा मतदाताकोे मत र विश्वासको कदर गर्दै थप तयारीका साथ अबको निर्वाचनमा उम्मेदवारी दिनेछु ।’ उनले भने ।
‘अघिल्लो निर्वाचनमा हार व्यहोरेकै दिन मैले व्यवसायी साथीहरुलाई अर्को पटक उम्मेदवारी दिने बाचा गरिसकेको थिएँ । व्यवसायीको घरदैलोमा आवश्यक पर्दा पुगिरहेको पनि छु । यसपालि म अझै उत्साहित भएर तयारीमा लागेको छु । सबैको साथ पाए पक्कै जित्छु ’ उनले थपे ।
मतदाताको चाहाना अनुसार नै आफ्नो उम्मेदवारी रहेको र व्यवसायिक हितको लागि सदैव लगनशील भएर लागेको राउतले बताए ।
‘अहिले म व्यवसायीको घरदैलोमा पुगेर उहाँहरुको समस्या र सुझाव संकलन गरिरहेको छु । सोही आधारमा म चुनावी घोषणपत्र तयार पारेर उम्मेदवारी दिने तयारीमा छु ।’ उनले भने ।
नेपाली कांग्रेसले पनि आसन्न निर्वाचनमा उम्मेदवारको रुपमा आफुलाई नै समर्थन गर्ने राउतको दावी छ ।
संघले चैत २१ गते साधारणसभा र २३ गते निर्वाचनतालिका घोषणा गरेको छ ।
