स्थानीय सरकार प्रमुखहरू बज्जिका भाषाको विकासमा सकारात्मक देखिएनन्: किशुन दयाल श्रीकृष्ण
बज्जिका साहित्यकार किशुन दयाल श्रीकृष्ण बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष पनि हुन् । बज्जिका भाषाको विकास र विस्तारका लागि उनले रौतहटमा महत्वपूर्ण काम गरिरहेका छन् । स्रोतसाधनको सङ्कटका बीच पनि श्रीकृष्णले अन्य बज्जिका साहित्यकारहरुसँग निरन्तर संवाद र सहकार्य अघि बढाएका छन् भने बज्जिका भाषाको विकासका निम्ति धेरथोर जति भएपनि योगदान दिएका छन् । यो भाषाको विकास र विस्तारका लागि थुप्रै महत्वपूर्ण योजना बनाएका र त्यसका लागि बाज्जिका भाषाका अग्रज साहित्यकारहरुको साथ लिएर अघि बढिरहेका श्रीकृष्णसँग तु खबरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
बज्जिका भाषाको विकासमा पछिल्लो समय कसरी काम भइरहेको छ ?
श्रीकृष्णः बज्जिका भाषाको विकासमा पछिल्लो समयमा तदारुकताका साथ कामहरू भइरहेका छन । सर्लाही, रौतहट र महोत्तरीमा बज्जिका भाषा, साहित्य र संस्कृति संरक्षण र सम्बद्र्धनका कार्यक्रमहरू संचालन भएका छन । बज्जिका भाषा र साहित्य लेखन बापत सर्वोउत्कृट कृतिको लागि दुई सर्वोच्च अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान समर्पण भएका छन । सन २०२५ मा सिमरा भगौतीपुर, सर्लाही, हाल अमेरिका निवासी इ. डा. विजय झाद्वारा घोषणा गरिएको उनका कविजी काका स्व.सदानन्द झाको नाममा “कवि सदानन्द अन्तर्राष्ट्रि«य बज्जिका सेवी पुरस्कार” नगद रु. ५०,०००/– पचास हजारको पहिलो पुरस्कार “बुद्ध” नेपालीय बज्जिकाको प्रथम महाकाव्यको लागि साहित्यकार, इतिहासकार बज्जिका सेवी सञ्जय साह मित्रलाई समर्पण गरिएको छ । यस अवसरमा नेपाल र भारतका बज्जिका सेवी साहित्यकार ज्यूहरूलाई “कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवा सम्मान” समर्पण गरियो । यस्तै सन २०२४ मा माधवनारायण नगरपालिका, वार्ड नं. ५, मिठुअवा, बज्जिकानगर स्थायी, हाल अष्ट्रेलिया निवासी नितेश गुप्ताद्वारा आफ्नो आमा बुबाको नाममा घोषणा गरिएको “अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका सर्वोउत्कृष्ट कृति पुरस्कार सम्मान २०२४” नगद रु. पचिस हजारको प्रथम पुरस्कार सम्मान पनि “बुद्ध” नेपालीय बज्जिकाको प्रथम महाकाव्यको लागि मित्रलाई नै समर्पण गरिएको छ । यस अवसरमा नेपालका महोत्तरी, सर्लाही, रौतहट, बारा, नवलपरासी र काठमाडौं जिल्लाका र भारतका वैशााली, मुजफ्फरपुर, पटना, सितामढी, समस्तिपुर, दरभंगा र शिवहर जिल्लाका बज्जिका सेवी साहित्यकार ज्यूहरूलाई “अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका सम्बन्ध–सेतु सम्मान २०२४” हरेक जिल्लाबाट एकजनालाई समर्पण गरिएको छ । यी दुवै पुरस्कार/सम्मान कार्यक्रम हरेक साल हुने छ ।
बज्जिका साहित्य संगमले यस भाषाको विकास र विस्तारमा गरिरहेका कामहरु के के छन् ?
श्रीकृष्णः बज्जिका साहित्य संगम रौतहटले यी सबै कार्यक्रमलाई उत्साहपूर्वक समायोजन गरेको छ । यसका साथै यसपालि पहिलो पटक तिहारमा स्थानीय गरुडा नगरपालिकाको वार्ड नं. ४ गरुडा बजार र वार्ड नं. ५ महम्मदपुरमा बज्जिका देउँसी खेलेको छ । जसबाट संकलित रु. पैतिस हजार बज्जिका सम्वाद कार्यक्रम सञ्चालन गर्न खर्च हुने छ । बज्जिका सेवी सञ्जय साह मित्रको अगुआइमा विद्यार्थी भाई बहिनीहरूलाई बज्जिका कविता, लघुकथा, कथा, बजिजका संस्कृति र परम्पराका बारेमा निबन्ध तथा समाचार लेखन प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिएको छ । नेपाल पुलिस स्कूल रौतहट, बसबिट्टी जिंगडियामा स्कूलका प्रार्चाय रामशरण रिजालद्वारा पुस्तक पढेर समिक्षा लेखन कार्यक्रममा अभिभावकीय भूमिका निर्वाह गरेको छ ।
स्थानीय सरकारको रुपमा नगरपालिकाहरुले बज्जिकाको विकासमा कसरी काम गरिरहेको छ ?
श्रीकृष्णः स्थानीय सरकारको रुपमा नगरपालिकाबाट यसपालि भन्दा पहिलेका मेयर साहेब वा गापा अध्यक्ष ज्यूहरूले अग्रणी भूमिका निर्वाह गर्नु भएको मेरो अनुभव छ, जसबाट हामी बज्जिका सेवी बहुत उत्साहित भएका थियौं । जसमा रौतहटको गरुडा, गढीमाई, कटहरिया, माधवनारायण, फतुवा विजयपुर, गौर, दुर्गाभगवति गापाका साथै सर्लाहीका रामनगर–विष्णु गापा, गोडैता–मलंगवा नगरपालिका आदि थियो । यसपालिमा सर्लाहीको मलंगवा नगरपालिकाले धेरै उत्साहपूुर्वक बज्जिका भाषा, साहित्य र संस्कृति संरक्षण र सम्वद्र्धनका लागि पुरस्कार/सम्मान कार्यक्रम गरेर नगरपिता श्री नागेन्द्र प्रसाद यादव जी अग्रणी भूमिका निर्वाह गरिरहनु भएको छ ।
आधारभुत तहमा बज्जिका भाषा पनि पढाउन अनिवार्य गरिएको थियो, त्यसबारे विस्तृतमा बताइदिनुहोस् न ।
श्रीकृष्णः आधारभूत तह कक्षा एक र दुईमा “बज्जिका किताब” रामनगर गापाका अध्यक्ष कृष्णप्रसाद वर्माको अध्यक्षतामा पाठ्यक्रम बन्यो र संस्थापक अध्यक्ष पूर्व प्रमुख जिल्ला अधिकारी,उपसचिव कमलेश्वर सिन्हा ज्यूको पहलमा काका सामुदायिक सिकाई केन्द्र बलराको प्रकाशनमा किताब विभिन्न पालिकाको विभिन्न विद्यालयहरूमा अध्ययन अध्ययापन गराइयो । अहिले त्यही बाँकी रहेको जिर्ण किताबबाट बज्जिका सेवी गुरुजीहरू पढाई रहनु भएको छ । यसपालिका नयाँ एकाध मेयर साहेब/अध्यक्ष जीहरू बाहेक प्राय धेरै यस प्रति सकारात्मक हुनु भएको मैले पाएको छैन ।
आगामी दिनमा बज्जिका भाषाको विकास र विस्तारमा के कस्ता काम गर्ने योजनाहरु बनेका छन् ?
श्रीकृष्णः अगामी दिनमा संगमबाट एक दूई वटा कृति प्रकाशन गर्ने योजना छ । बज्जिका भाषा, साहित्य, संस्कृति र परम्परा संरक्षण र सम्वद्र्धनका कार्यक्रमका साथै प्रचार र प्रसारका कार्यहरू हुने छ । निकट भविष्यमा हामी बारा जिल्लामा एउटा बज्जिका सम्वाद कार्यक्रम श्री रामचलितर मा. वि. चिउटाहाको प्रधान शिक्षक श्री दिनेश प्रसाद साह जीको पहलमा गर्ने योजना रहेको छ ।
