अमेरिकी भिसा प्रक्रियामा परिवर्तन, ‘भिसा शपिङ’ नियन्त्रण हुने

तु खबर संवाददाता
२०८२ मंसिर २८, आईतवार ०६:३३

गिरिजा अधिकारी, न्युयोर्क

अमेरिकी विदेश मन्त्रालयले गैरआप्रवासी र आप्रवासी दुवै भिसा प्रक्रियाका लागि नयाँ नियमहरू जारी गरेको छ। ‘भिसा शपिङ’ प्रचलनलाई नियन्त्रण गर्न यस्तो नियम जारी गरिएको हो । जारी नियमपछि आवेदकहरुले अमेरिकी भिसा प्राप्त गर्न आफु नागरिक भएको वा बसिरहेको देशबाट मात्र आवेदन दिन पाउने छन् ।

पहिले नै तय भएका भिसा अपोइन्टमेन्टहरुमा यो नीति अपवादको रुपमा रहनेछन् भने मानवीय, चिकित्सकीय वा विदेश नीतिका कारणहरूमा पनि अपवादहरु लागू हुन सक्नेछन् ।

यसअघि अमेरिकी भिसा अपोइन्टमेन्टहरुमा लचकताहरु थिए । भिजिट भिसा, विद्यार्थी भिसा तथा अन्य केही भिसा श्रेणीहरुका भिसा अन्तवार्ताका लागि विश्वको जुनसुकै ठाउँमा रहेको अमेरिकी दुतावास तथा कन्सुलरबाट अपोइन्टमेन्ट तय गरी अन्तवार्ता दिन सकिने व्यवस्था थियो ।

यस अघि नेपाली नागरिकहरुले भिसा अन्तर्वार्ताका लागि नेपालस्थित अमेरिकी दुतावासमा अपोइन्टमेन्ट नपाइएमा भारत, बैंकक वा सिंगापुर गएर अन्तर्वार्ता दिने गरेको भएपनि अब यो अवसर नपाइने भएको छ । आफु नागरिक भएको देशमै भिसा अन्तर्वार्ता दिनपर्ने भएका कारण यस्तो अवस्था भएको हो ।

जारी नियम राष्ट्रिय सुरक्षा र धोखाधडी नियन्त्रणको उद्धेश्यले ल्याइएको नियम हो । यसले भिसा आवेदकहरु निवास रहेको देशबाहिर गई अन्तर्वार्ता दिँदा कन्सुलर अधिकारीहरुले उनीहरुको वास्तविक अवस्था थाहा पाउन कठिनाइ हुने संभावना रहन्थ्यो, हाल ल्याइएको नियमले यो स्थितिलाई हटाउने छ ।

आवेदकको पृष्ठभूमि जाँच पनि अन्यत्रबाट अन्तर्वार्ता दिँदा प्रभावकारी नहुने संभावना रहेको विश्लेषण गर्दै व्यक्तिहरूले झुटा कागजात वा अपूर्ण जानकारीका साथ भिसा आवेदन दिने सम्भावनालाई रोक्न नयाँ नियम ल्याइएको हो ।

अमेरिकी कानुनले भिसा जारी गर्दा आवेदक स्थायी बसोबास गर्ने देशमा फर्कन्छ कि फर्कदैँन भन्ने मनसायलाई पनि कन्सुलर अधिकारीले अध्ययन गर्नुपर्ने हुन्थ्यो, भिसा शपिङ गर्दा यो कानूनी आवश्यकतालाई पूर्ण रूपमा पालना गर्न कठिनाइ हुने अमेरिकी विदेश मन्त्रालयको ठहर छ।

यस बाहेक पनि भिसा आवेदनका सन्दर्भमा महत्वपूर्ण परिवर्तनहरु गरिएका छन्, जसले अमेरिकी भिसा आवश्यक व्यक्तिहरुलाई थप जटिलताहरु फेस गर्न आवश्यक हुन सक्ने देखिएको छ ।