भेनेजुएला तटबाट अमेरिकाद्वारा सबैभन्दा ठूलो तेल ट्याङ्कर नियन्त्रणमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाको तटबाट एउटा विशाल तेल ट्याङ्कर नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार यो अहिलेसम्म अमेरिकाले जफत गरेको सबैभन्दा ठूलो ट्याङ्कर हो, जसले दुई देशबीचको तनावलाई झन् चर्काउने संकेत दिएको छ।
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भनेका छन हामीले भर्खरै एउटा अहिलेसम्मकै सबैभन्दा ठूलो ट्याङ्कर कब्जा गरेका छौँ । ट्याङ्करमा रहेको कच्चा तेलको बारेमा प्रश्न गर्दा उनले संक्षिप्त रूपमा भन, हामी यसलाई राख्छौँ ।अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले एक्स मार्फत सार्वजनिक गरेको भिडियोमा सशस्त्र कर्मचारीहरू हेलिकप्टरमार्फत ट्याङ्करमा उत्रिएको र डेकमा तलाशी चलाएको दृश्य देखिन्छ। उनले बताए अनुसार एफबीआइ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन अमेरिकी तटरक्षक तथा अमेरिकी रक्षा विभागको सहयोगमा उक्त ट्याङ्करमा जफत वारेन्ट कार्यान्वयन गरिएको हो।
अधिकारीहरूले बताएअनुसार स्किपर नामक उक्त ट्याङ्करले भेनेजुएलाको कच्चा तेल बोकिरहेको थियो। यसअघि ट्याङ्कर इरानी तेल ढुवानीमा संलग्न रहेको शंका रहेकाले संघीय न्यायाधीशले यसको जफत आदेश जारी गरेका थिए। विदेशी आतंकवादी समूहहरूलाई आर्थिक सहयोग गर्ने अवैध तेल कारोबारमा संलग्नताको आरोपमा अमेरिकाले वर्षौँदेखि यस ट्याङ्करलाई प्रतिबन्ध सूचीमा राखेको थियो।
सीएनएन समाचारका अनुसार यो जफत अन्तर्राष्ट्रिय पानीमा गरिएको तथा अमेरिकी कर्मचारी वा चालक दलबीच कुनै हताहत वा झडप नभएको एक वरिष्ठ अमेरिकी अधिकारीले बताए। ट्याङ्कर क्युवातर्फ जाँदै गरेको र त्यहाँबाट एसियाली बजारका लागि तेल पुनःव्यवस्थित गर्ने योजना रहेको पनि अधिकारीहरूले खुलासा गरेका छन्।भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हटाउने उद्देश्यले अमेरिकाले हालसालै दबाब अभियान तीव्र बनाएको छ। क्यारिबियन क्षेत्रमा सेनाको उपस्थिति बढाउँदै आएका अमेरिकाले यो घटनापछि आगामी हप्तामा थप जफतसमेत हुनसक्ने संकेत दिएको छ।
जफतको समाचार सार्वजनिक भएसँगै भेनेजुएला सरकारले वक्तव्य जारी गर्दै यस कदमलाई अन्तर्राष्ट्रिय डकैती को संज्ञा दिएको छ। वक्तव्यमा भनिएको छ ,यो न लोकतन्त्रको मुद्दा हो न मानव अधिकारको। यो भेनेजुएलाको तेल र प्राकृतिक सम्पत्तिमाथि कब्जा जमाउने दीर्घकालीन योजनाको अर्को चरण मात्र हो।क्युबा, जहाँ अहिले दशकको सबैभन्दा गम्भीर विद्युत् संकट चलिरहेको छ, त्यहाँ जाँदै गरेको तेल जफत भएपछि क्युबाली अधिकारीहरूले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।अमेरिका र भेनेजुएलाबीच यसरी चर्किएको तनावले आगामी दिनमा कूटनीतिक सम्बन्ध झनै जटिल बन्ने संकेत देखिएको छ।


