यति धेरै पाउँला भनेर सपनामा पनि सोचेको थिइनँ

तु खबर संवाददाता
२०८२ मंसिर ७, आईतवार ०९:३०
फोटो क्रेडिट : भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालको फेसबुक पेज

साहित्य, संगीत र लेखन क्षेत्रका सक्रिय स्रष्टा भीम विरागको जन्म वि.सं. १९९१ साल १ माघमा पर्सा जिल्लाको वीरगन्जमा भएको हो । सुरुका दिनमा खेलकुदमा साह्रै रुचि राख्ने विरागको जीवन पनि खेलकुदले नै अपांग बनाएर छाड्यो । फुटबल खेल्न भनेपछि ज्यानै फाल्ने विरागको जीवनमा खेल खेल्दा जीवनमा कहिल्यै निको नहुने घाउ लाग्यो । मध्यम परिवारमा जन्मिएका विरागको फुटबल खेल्दा भाँचिएको खुट्टा र करङको उपचार हुन नसकेर वर्षौँ थला परेका थिए । धेरैपछि महेन्द्र सरकारको सहयोगमा उपचार भएको बताउँदै उनी आफूलाई मर्दामर्दै बाँचेको र जीवनले ठगेको मान्छेका रुपमा चित्रण गर्दै जीर्ण र रोगी शरीर लिएर बाँचिरहेका छन् । अहिले उनको साथी कलम–कापी या हारमोनियम र तबला भएको छ ।
पिता तुलसीबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवीका कोखबाट जन्मेका विरागको जीवन कठिन र दुःखैदुःखमा हुकिएको थियो । पहरामा फुलेको गुराँसको फूलजस्तो साहित्य र संगीत क्षेत्रमा सुगन्ध छने सफल विरागले जीवनमा भने कहिल्यै भौतिक सुखको अनुभव गर्न पाएनन् । हालसम्म दुःखेको इन्द्रेणी, अतृप्त स्पर्श (गीतसंग्रह), तातो सुस्केरा र भीम विरागका कविता (कविता संग्रह), आठ टुक्रे बादल, विरागका गीत–गजल (गीत गजलसंग्रह) स्वर सम्राटसँगको क्षणहरू (संस्मरण), दुःखेका मुटु (गीति–एल्बम), दुःखेको इन्द्रेणी उनको हालसम्मका सिर्जना आफ्ना हुन् । जीवनकै सबैभन्दा महत्त्वपूर्ण पुस्तक मानेका महाकाव्य लेखेर प्रकाशनको तयारीमा रहनुभएका विराग यस पुस्तक आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण सिर्जना हुनेमा आशावादीसमेत हुनुहुन्छ ।
६८ वर्षीय रोगी शरीर लिएर पनि सिर्जनामा नथाकेका विरागले विभिन्न अभिनन्दन, मानसम्मान, पुरस्कारसमेत प्राप्त गर्नुभएको छ । उहाँले प्रवल गोरखा दक्षिण बाहु चौथा, गद्दी आरोहण रजत महोत्सव पदक, छिन्नलता पुरस्कार, ज्ञानपूर्ण पुरस्कार, मकवानपुर संगीत प्रतियोगिता पुरस्कार, नारायणी वाङमय पुरस्कार, लेखनाथ राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । नारायणी अञ्चलका दुई दर्जनभन्दा बढी संघसंस्थाले उहाँलाई अभिनन्दन र सम्मानसमेत गरिसकेका छन् । उनै स्रष्टासँग राजधानी दैनिकका लागि उज्जवल चौलागाईंले गरेको वाटिका संवाद :
आजकाल के गर्दै हुनुहुन्छ ?
आजकाल खासै त केही गरेको छैन । तर, चुप लागेर बसेको पनि छैन । गीतामा आधारित एउटा धार्मिक ग्रन्थ महाकाव्यको तयारीमा छु । गीताको १८ अध्यायलाई आफ्नो भाषाशैलीमा कवितात्मक सरल भाषामा तयारी गरेको छु । यो पुस्तक प्रकाशनको तयारीमा छ । दुई वर्षदेखि थकाइ मार्दै फुटकर रचना पनि लेखिरहेको छु ।
तपाईँले लेखेको महाकाव्यको बारेमा बताइदिनुहोस् न ?
धार्मिक ग्रन्थ भागवत् गीता १८ अध्याय छ । यसलाई सबैले बुझ्ने गरी महाकाव्य तयार पारेको छु । मोहभंग नामकरण गरिएको यस महकाव्यमा गीताको सन्देश र मर्मलाई कवितात्मक शैलीमा उतारिएको छ ।
यस महाकाव्यबाट तपाईँले कस्तो आशा गर्नुभएको छ ?
यस महाकाव्य धार्मिक पुस्तक भएका कारण सबै नेपालीको घरघरमा यो महाकाव्य पुग्न सकेमा मेरो सबैभन्दा ठुलो सफलता हुनेछ । यस महाकाव्य बिक्री वितरणबाट उठेको रकम भीम विराग ट्रस्ट कोषमा जम्मा गरिने योजनासमेत रहेको छ । ट्रस्टमा जम्मा भएको रकम साहित्य र संगीतका स्रष्टालाई सहयोग पु¥याउने योजना छ । यो कार्य मेरो जीवनमा सबैभन्दा गहन र महत्त्वपूर्ण उपलब्धि हुनेछ ।
वर्तमान अवस्थामा साहित्यको अवस्था कस्तो छ ?
निकै नै ऊर्जावान छ । वर्तमान समाज, साहित्य संगीतविना अपूरो र अधुरो रहन्छ । मैले २००७ सालभन्दा अगाडिको साहित्य पनि देखेको छु । सो पछिको साहित्य पनि अनुभव गरेको छु । यसरी भन्नुपर्दा नेपाली साहित्यले तीन कालखण्ड पार गरेको छ । वर्तमान अवस्थामा नयाँ नौलो प्रयोग र विचार साहित्यमा प्रवेश गरेको छ ।
अहिलेको गीत–संगीत कस्तो लाग्छ ?
गीत–संगीत पनि पहिलेकोभन्दा अहिलेको राम्रो छ । पहिलेको गीत–संगीतभन्दा हालको गीत–संगीत परिस्कृत छ । राम्रो पक्ष भएपछि नै नराम्रो पक्ष हुने हो । हाल पपगीतले केही नौलोपन भित्र्याउन खोजे पनि सफल हुन भने सकेको छैन ।
पप गीतलाई कसरी हेर्नुहुन्छ ?
नयाँ पिँढीको नयाँ चाहना पप संगीत हुन पुगेको छ । पपगीत गायकले राम्रो रचनाकार, गीतकार पाउन सकेका छैनन् । शब्द चयन मिलाएर शुद्ध स्वरले लोकगीत पारामा ढालिएका गीत भएमा सफल हुन सक्दछ । पपले संगीत प्रशिक्षण अवस्थामा छ । अझै मेहनत गरिनुपर्ने देखिन्छ ।
तपाईँको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल त्यत्ति सहज भएन । म १४ वर्षको हुँदा बुबा बित्नुभयो । मेरी आमा पनि बाथको रोगी हुनुहुन्थ्यो । मभन्दा तलका भाइबहिनी र म मामाघरमा हुर्कियौँ । मेरो शिक्षा पनि राम्रो हुन सकेन । हाम्रो जीवन दुःखैदुःखमा बित्यो । मेरो जीवनमा संगीतको रस बाल्यकालबाट नै परेको हो । हाम्रो आर्थिक अवस्था पनि कमजोर थियो । बाल्यकालदेखि रोगी भएको कारण कठिन जीवन भोगेको छु ।
खेलाडी जीवन कसरी त्याग्नुभयो ?
खेलले मलाई जीवनभर अपांग बनायो । सानोमा म फुटबल खेलाडी थिएँ । फुटबल खेल्दाखेल्दै मेरो खुट्टा र ढाड भाँचियो । सयमा राम्रो उपचार हुन नसकेका कारण म रोगी भएँ र फुटबल खेल त्यागिदिएँ । उपचार गर्न नसकेर अपांग भएर बसेको बेला महेन्द्र सरकारको हुकुमले मैले उपचार पाएर नयाँ जीवन पाएको हुँ ।
महेन्द्र सरकारलाई कसरी सम्झना गर्नुहुन्छ ?
महेन्द्र सरकारलाई जीवनदाताको रूपमा सम्झना गर्छु । रोगले थला परेको बेला पनि म संगीत क्षेत्रमा लागेको थिएँ । म राम्रो बाँसुरी बजाउँथे, मेरो कला देखेर सरकारको हुकुमबाट मेरो उपचार भएको हो । मेरो मेरो जीवनदाता हो । उहाँ नभएको भए सायद म भीम विराग रहन्न थियो होला ।
तपाईँ साहित्य र संगीतको क्षेत्रमा कसरी लाग्नुभयो ?
साहित्य मैले पछि लेख्न थालेको हुँ र म संगीतमा बाल्यकालबाट नै लागेको हुँ । बाल्यकालबाट नै संगीत साधकसँग खेलेर हुर्किएका कारण पनि मेरो बाल्यकालबाट नै संगीतमा रस बढेको हो । बनारस पढ्न जाँदा मेरो साहित्यमा रस बसेको हो । साहित्यमा लाग्छु भनेर लागेको नभई लेख्दादेख्दै यस क्षेत्रमा प्रवेश गरेको हुँ ।
तपाईँ आफूलाई साहित्यकार, संगीतकार तथा गीतकार के भन्न रुचाउनुहुन्छ ?
म त्यत्ति ठुलो साहित्यकार होइन । तर पनि लेख्छु । म भीम विराग भनेर परिचित भएको गीत–संगीत क्षेत्रबाट हो । मेरो गीत नारायण गोपाल र अन्य चर्चित गायकहरुले गाएका कारण मलाई भीम विराग भनेर मान्छेले चिनेका हुन् । मलाई सबैले संगीत क्षेत्रको छात्र भनेर चिन्छन् ।
तपाईँ साहित्य कसरी सिर्जना गर्नुहुन्छ ?
साहित्य संगीत सिर्जना गराउन एउटा माहोल चाहिन्छ । साहित्य सिर्जना गराउन खासै कुनै समय भन्ने हुँदैन ।
कस्तो माहोल चाहिन्छ ?
एउटा सन्दर्भ साहित्यकार कमलमणि दीक्षित आएर कलम उपहार दिनुभयो । एउटा उत्कृष्ट रचनाको सिर्जना होस् भन्ने उहाँको चाहना थियो । मैले धेरै सोच विचार गरेर एउटा महाकाव्य लेख्ने सोच बनाएँ । महाकाव्य मोहभंगसमेत तयारी भयो । मलाई महाकाव्यकार बनाउन उहाँको ठुलो हात छ ।
तपाईँ कसरी गीत–संगीत सिर्जना गर्नुहुन्छ ?
मेरो कोही गुरु छैन । मैले बसेर घरमै संगीत सिकेको हुँ । गीत लेख्न थालेको संगीत सिर्जन ागर्न थालेपछि हो । म साहित्यकार भएकोले गीत रचना आफैँ गर्छु र गाउँछु पनि ।
कस्तो साहित्य मन पर्छ ?
मलाई तत्कालीन घटनासँग सम्बन्धित साहित्य मन पर्छ । तत्कालीन घटनाले घचघच्याएपछि मात्रै म लेख्न थाल्छु । समालोचकहरूले पनि मलाई मान्छेको कवि मान्छेको साहित्यकार भनेका छन् ।
तपाईँको उत्कृष्ट रचना कुन हो ?
मेरो सिर्जना सबैजसो मन पर्दछ । स्वर सम्राटले गाएको तिमीले पनि म जस्तै माया गरेर हेर, आजकल हरेक साँझ मात्तिन थालेछु, फूलै फूल मात्र पनि होइन रहेछ जीवन जस्ता रचना मलाई मन पर्छन् ।
हाल त्यस्ता उत्कृष्ट रचना छैनन् ?
म आजकल ठाउँमा छैन । टाढा भएको कारणले समेत समस्या उत्पन्न भएको हो । मसँग ज–जसको सम्पर्क छ उनीहरुले अझै पनि मेरो गीत गाएकै छन् ।
वर्तमानमा को–को साहित्यकार मन पर्छ ?
वर्तमान अवस्थामा धेरै साहित्यकारहरू राम्रो लेख्नेमध्ये डा. ध्रुवचन्द्र गौतम, लगायत धेरै साहित्यकार छन् ।
तपाईँको जीवनको अन्तिम सिर्जना के हो ?
भन्न त गाह्रो छ । सायद मेरो जीवनको अत्मि सिर्जना धार्मिक सिर्जना नै हुन्छ भन्ने मैले अनुमान गरेको छु ।
तपाईँलाई स्वर सम्राट नारायण गोपालको साथी भनिन्छ नि, हो ?
साथी त होइन । उहाँले मलाई धेरै माया गरेर मेरा दुई चारवटा गीत गाएर ठुलो गुण लगाउनु भएको छ । म उहाँलाई साथीभन्दा पनि श्रद्धेय भनेर मान्छु ।
नारायण गोपालसँगको कस्तो सम्झना छ ?
स्वर सम्राटसँग केही महिना बिताउने अवसर पाएको छु । त्यो सम्झना उतारेर एउटा संस्मरणसमेत लेखेको छु । उहाँसँगको उठबस सबैजसो पुस्तकमा छ । मेरो सबै गीत उहाँले गाउँछु भनेर लैजानुभएको थियो । तर, समय परिस्थितिले गर्दा तीनवटा गीत मात्र गाउनुभएको छ । उहाँसँग बिताएका क्षण सम्झना त्यो संस्मरणमा छ ।
तपाईँलाई राजधानीबाहिर बसेर पछाडि परेको महसुस भएको छैन ?
म राजधानीबाहिर बसेको भएर नै केही लेख्न सफल भएको छु । लेख्ने ऊर्जा हुनेहरूका लागि क्षमता हुनेहरूका लागि राजधानीमा नै बस्नुपर्छ म भन्दिन । राजधानीबाहिर बसेर पनि लेख्न सकिन्छ । राजधानी भनेको त ऊर्जाशील व्यक्ति खारिएर बस्ने ठाउँमात्र हो । म राजधानीबाहिर बसेर केही गर्न सकिन भन्ने होइन, जे गर्न सकेँ राजधानीबाहिर नै बसेर गर्न सकें जस्तो लाग्छ ।
गीत, संगीत, साहित्यको क्षेत्रलाई फसल र मोफसल भनेर छुट्याइन्छ नि ?
राजधानी आखिर राजधानी नै हो । कतिपय व्यक्ति अगाडि परेर क्षमता देखाए होलान् ! त्यत्तिले साहित्य संगीतको गरिमा बढ्छ भन्ने छैन । साहित्य संगीतको गरिमा तब मात्र बढ्छ जब उसले साहित्य संगीतको सेवा गर्छ । मोफसल एउटा उद्योग हो जहाँ उत्पादन भएको साहित्य र संगीतकारहरूको सिर्जना बिक्री हुने ठाउँमात्र हो । राजधानी, मोफसलमा उत्पादन भएको चीज बिकाउने स्थानमात्र हो ।
तपाईँको प्रेरणा स्रोत को हो ?
मेरो आफ्नो जीवनको परिधि मेरो प्रेरणाको स्रोत हो, उत्पीडन र दुःख नै मेरो प्रेरणा हो ।
भीम विराग के हो ?
भीम विराग नचाहँदा नचाहँदै कथाकार, कविताकार, साहित्यकार, गीतकार बन्न पुगेको हुँ । कुनै विधालाई पूर्ण गर्न नसकेको एउटा दुःखी मान्छै नै भीम विराग हो ।
साहित्य संगीतको क्षेत्रमा नलागेको भए भीम विराग के हुन्थ्यो ?
म साहित्यकार वा संगीतकार नभएको भए खेलाडी हुन्थें होला । मेरो बच्चादेखिको इच्छा खेलाडी बन्ने हो । म खेलको व्रmममा अपांग बन्न पुगेको हुँ । बसी बसी गर्ने भएको कारणसमेत पनि यस क्षेत्रमा अगाडि आएको हुँ जस्तो लाग्छ ।
भीम विरागले कस्तो जीवन बाँचेको छ ?
भीम विरागले अपांग जीवन बाँचेको कारण दुःखी छ । मेरो अपांग जीवनको अनुभव त्यत्रिबेला हुन्छ जब म नियन्त्रण गरिएको स्थानमा जान सक्दिनँ । मेरो अवस्थाको कारणले बोलाएको ठाउँमा जान सकिँदैन । मेरो उपस्थिति स्थानीय स्तरमा मात्रै छ । समग्रमा विरागले विरक्त जीवन, दुःखी जीवन, कष्टकर जीवन बाँचेको छ ।
जीवनप्रति कत्तिको आशावादी हुनुहुन्छ ?
म जिन्दगीप्रति आशावादी छु । एकपटक यस्तो समस्या आएको थियो कि म बाँच्नुभन्दा आफूलाई मार्न चाहन्थें । अहिले म धेरै स्वस्थ छु । अहिले मलाई यस देशले यस माटोले धेरै माया दिएको छ, अहिले बाँचेको ऊर्जा पाएको छु ।
जीवनमा के पाउनुभयो, के गुमाउनुभयो ?
मैले जीवन पाएँ, त्यो नै ठुलो कुरा हो । जीव्न पाएर जीवन उपयुक्त बनाउनु सबैभन्दा महत्त्वपूर्ण कार्य हो । जीवनमा नौ–दस पुस्तक लेखें, १९–२० सम्मान पाएँ, पुरस्कारहरू पाएँ । जीवनदेखि निरास भएको मान्छेले यत्रो माया पाएँ, यो नै सबैभन्दा ठुलो कुरा हो ।
तपाईँ पुरानो पत्रकार, यसको सम्झना बाँकी छैन ?
मलाई हेटौँडा ल्याउने नै पत्रकारिता हो । मैले मकवानपुरमा पहिलो नारायणी साप्ताहिक चलाएँ । म हेटौँडा आएको नै पत्रिकाको सम्पादन गर्न हो । हाम्रो प्रेस पनि थियो तर पछि पञ्चहरूले प्रेस लिएर गएपछि पत्रिका पनि बन्द भयो । १९÷१९ वर्ष पत्रिका नियमित प्रकाशन भएको थियो ।
जीवनमा के गर्न बाँकी छ जस्तो लाग्छ ?
जीवनमा सबै गरेजस्तो लाग्छ । दरिद्रहरूले एक पेट खान पाएपछि उसले राज्यको कल्पना गर्दैन । त्यसैले यहाँका बासिन्दाहरूले मलाई जति सम्मान दिएका छन्, त्यो पूर्ण छ । मैले सपनामा पनि सोचेको थिइनँ कि यत्ति सम्मान, माया, ममता पाउँछु भनेर, जीवनमा धेरै कुराहरू पाएजस्तो लाग्छ र सन्तुष्ट पनि छु ।
(शनिवार ७ मंसिर २०५९ मा राजधानी दैनिकमा प्रकाशित अन्तर्वार्तालाई ‘साहित्यमा मकवानपुरको महक’ शृङ्खला ३८ का लागि साभारित)