रुस विरुद्ध प्रतिबन्धहरु घोषणा, सकियो जी ७ देशका विदेशमन्त्रीहरुको बैठक

गिरिजा अधिकारी
२०८२ कार्तिक २६, बुधबार २१:२६
तस्बिर : जी ७, गभर्नमेन्ट अफ क्यानाडा

गिरिजा अधिकारी

ओन्टरियो, क्यानाडा । जी ७ देशका विदेशमन्त्रीहरुले महत्वपूर्ण विषयहरुमा बृहत छलफल गरेपछि केही निश्कर्षसहित जारी बैठक टुंग्याएका छन् । त्यसमा क्यानाडाका तर्फबाट रुस विरुद्ध थप प्रतिबन्धहरु समेत छन् ।

क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दले जी ७ देशका विदेशमन्त्रीहरु र थप केही आमन्त्रित देशका विदेशमन्त्रीलाई स्वागत गरेपछि सुरु भएको बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि बढाएका मध्य पूर्वमा शान्ति र सिथरता हुनुपर्ने र गाजामा द्वन्द्व अन्त्यका लागि प्रस्तुत गरेको विस्तृत योजनाहरुलाई बलियो समर्थन रहेको कुरालाई पुष्टि गर्दै सकिएको छ ।

गाजामा भएको युद्ध विराम र बन्धकहरुको रिहाइलाई जी ७ देशका विदेशमन्त्रीहरुले स्वागत गरेका छन्, बैठकपछि जारी संयुक्त विञप्तीमा उल्लेख छ । त्यस्तै युक्रेनको सुरक्षाका सन्दर्भमा पनि विदेशमन्त्रीहरुले चिन्ता गरेका छन् र युक्रेनको पक्षमा जी ७ देशको समर्थनलाई पुनः दोहोर्याएका छन् ।

पछिल्लो आर्थिक व्यवस्था, क्षेत्रीय सुरक्षा र सम्बन्धमा बैठकमा थुप्रै एजेण्डाहरुमाथि छलफल भएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पका करका नयाँ नीतिहरुका कारण क्यानाडासितको सम्बन्धमा तिक्तता आएको सूचनाहरु सार्वजनिक भइरहँदा पनि ट्रम्पद्वरा अपनाइएका अन्य नीतिहरुमा विदेशमन्त्रीहरुको बलियो समर्थन सार्वजनिक भएको हो ।

रुसद्वारा युक्रेनका विभिन्न भुभाग तथा स्थानहरुमा भएको आक्रमण विदेश गरी उर्जा केन्द्रहरुमा भएका आक्रमणको विदेशमन्त्रीहरुले कडा निन्दा गरेका छन् । अन्र्तराष्ट्रिय सिमानाहरु बलद्वारा परिवर्तन गरिनुहुँदैन भन्ने सिद्धान्तप्रति विदेशमन्त्रीहरु प्रतिवद्ध रहेको उल्लेख छ ।

क्यानाडाको अध्यक्षतामा भएको जी ७ देशहरुका विदेशमन्त्रीहरुको बैठकमा फ्रान्स, जर्मनी, इटली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरू, र युरोपेली संघका उच्च प्रतिनिधि उपस्थित थिए । सो बैठकमा ब्राजिल, भारत, साउदी अरब अधिराज्य, मेक्सिको, गणतन्त्र कोरिया, दक्षिण अफ्रिका र युक्रेनका विदेश लाई पनि आमन्त्रित गरिएको थियो ।