क्यानाडामा जी ७ देशका विदेशमन्त्रीहरुको बैठक सुरु
ओन्टारियो, क्यानाडा । विदेशमन्त्री अनिता आनन्दले हिजो जी ७ देशका विदेशमन्त्रीहरुलाई ओन्टारियोको नायग्रामा स्वागत गरेकी छिन् । जी ७ मा आवद्ध बाहेक थप आमन्त्रित देशका विदेशमन्त्रीहरु पनि नायग्रा आइपुगेका छन् । आजसम्म चल्ने विदेशमन्त्रीहरुको वैठक सुरक्षा, आपसी हित र आर्थिक मामिलाहरुसँग केन्द्रीत छ ।
यसमा थप रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका गाजा युद्ध विराम योजना र युक्रेन रुसबीच युद्ध बिराम गर्ने सन्दर्भहरु पनि जोडिएका छन् । अमेरिका र क्यानाडाजस्ता परस्पर सहयोगी देशहरुबीच ट्रम्पले लागू गरेका नयाँ करका दरहरु र यससम्बन्धमा अमेरिकाको नीतिहरुबारे पनि छलफल हुने आसा गरिएको छ ।
आयोजक देशको रुपमा क्यानाडाले जी ७ राष्ट्रहरु फ्रान्स, जर्मनी, इटाली, जापान, यूके, अमेरिका तथा युरोपियन युनियनसमेतका विदेशमन्त्रीहरुलाई भेला पारेको छ । यसमा जी ७ बाहेकका केही देशहरुलाई समेत आमन्त्रित गरिएको छ ।
यसअघि क्याडानामा आयोजित जी ७ राष्ट्रहरुको शिखर सम्मेलनमा छलफल भएका केही महत्वपूर्ण एजेण्डाहरुमाथि विदेशमन्त्रीहरुबीच पनि छलफल हुनेछ । सो शीखर सम्मेलनमा शान्ति, सुरक्षा र अर्थतन्त्रको दिगोपना र आर्थिक वृद्धि लगायतका एजेण्डाहरुमाथि छलफल भएको थियो ।
जुनको १५ देखि १७ सम्म आयोजित सम्मेलनका क्रममा जी ७ मा सहभागी नेताहरुले मध्यपूर्वमा युद्ध विरामको आह्वान गरेका थिए ।
आज अमेरिका, कोरिया, युक्रेन, साउदी अरेबिया र इटालीसित द्विपक्षीय हित र सरोकारका सवालमा वार्ता हुने कार्यक्रम तय भएको छ । त्यस्तै सुरक्षा र उर्जा लगायतका विषयहरुमा पनि छलफलहरु हुने छन् ।



