आगजनी घटनामा सर्वोच्च र जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी

तु खबर संवाददाता
२०८२ कार्तिक १८, मंगलवार १३:५९

काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोड घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन्। अदालतहरूले प्रहरीलाई बुझाएको जाहेरीमा कसैको नाम किटान गरिएको छैन।

अदालत प्रशासनका अनुसार, घटनामा संलग्न व्यक्तिहरूको पहिचान र अनुसन्धानका लागि जाहेरी दिइएको हो। जाहेरी दर्ता भएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। उनका अनुसार, जाहेरी आउनुअघि पनि प्रहरीले २४ भदौका घटनाबारे प्रारम्भिक छानबिन गरिरहेको थियो।

जेन-जी आन्दोलनका बेला भएको आगजनी र तोडफोडका कारण सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालतसहित देशभरका २३ न्यायालय प्रभावित भएका थिए। तीमध्ये १० वटा अदालतमा पूर्ण क्षति, ९ वटा आंशिक र ४ वटा अदालतमा सामान्य क्षति पुगेको विवरण सार्वजनिक भएको छ।काठमाडौँ जिल्ला अदालतले भवन र सामग्रीसहित करिब ६२ करोड रुपैयाँ बराबरको क्षति बिगो कायम गरी प्रहरीमा जाहेरी दिएको छ। साथै, सर्वोच्च अदालतले देशभरका अन्य प्रभावित अदालतहरूसँग विवरण संकलन गर्दै थप जाहेरी दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ।

आगजनी र तोडफोडबाट क्षति पुगेका अधिकांश अदालतहरूले अहिले आंशिक रूपमा न्यायिक कार्य सञ्चालन पुनः सुरु गरिसकेका छन्।