पूर्व किष्ट बैंक सीईओ कमलप्रसाद ज्ञवाली रिहा गर्न सर्वोच्चको परमादेश
 काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमलप्रसाद ज्ञवालीलाई रिहा गर्न परमादेश जारी गरेको छ।
सोमबार ज्ञवालीकी पत्नी गौरी खनालले दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले ज्ञवालीलाई तत्काल रिहा गर्न आदेश दिएको हो।
ज्ञवालीमाथि ऋण दूरुपयोगको अभियोग लागेको थियो। उच्च अदालत पाटनको वाणिज्य इजलासले २०७३ असोजमा ज्ञवाली र उनकी श्रीमती गौरी खनाललाई जेल र जरिवानाको सजाय सुनाएको थियो। उनीमाथि जम्को प्रकाशन प्रालिको नाममा प्रवाह भएको करिब १२ करोड रुपैयाँ कर्जा कमजोर धितोमा जारी गरेको आरोप थियो।
उक्त फैसलापछि २०७५ असोजमा भारतबाट पक्राउ परेका ज्ञवाली करिब सात वर्षदेखि थुनामा रहेका थिए। सोमबार सर्वोच्च अदालतले उक्त थुनालाई गैरकानूनी ठहर गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो।



