तेलंगानामा भीषण सडक दुर्घटना : ट्रक–बस ठोक्किँदा २४ जनाको मृत्यु
 काठमाडौँ ।तेलंगानाको रंगा रेड्डी जिल्लामा सोमबार बिहान एक भीषण सडक दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। तीव्र गतिमा आएको गिट्टी बोकेको ट्रकले तेलंगाना राज्य सडक यातायात निगम को यात्रुबाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो।पुलिसका अनुसार दुर्घटना रंगारेड्डी जिल्लाको चेभेल्ला पुलिस स्टेशन क्षेत्रअन्तर्गत खानापुर गेट नजिक भएको हो। हैदरावादतर्फ जाँदै गरेको बसमा करिब ७० यात्रु सवार थिए। विपरीत दिशाबाट आएको ट्रकले सडकको गलत लेनमा प्रवेश गरी बसलाई ठक्कर दिँदा बसका धेरै यात्रुको घटनास्थलमै मृत्यु भएको बताइन्छ।
तेलंगानाका मुख्यमन्त्री रेभान्थ रेड्डीले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गर्दै मुख्य सचिव के. रामकृष्ण राव र डीजीपी बी. शिवधर रेड्डीलाई तत्काल उद्धार तथा राहत कार्य सुनिश्चित गर्न निर्देशन दिएका छन्। साथै, उनले मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूलाई घटनास्थलमा पुगेर उद्धार कार्यको निरीक्षण गर्न आदेश दिएका छन्।मुख्यमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, घाइतेहरूलाई तुरुन्तै हैदरावाद पुर्याई उपचारको व्यवस्था गर्न निर्देशन दिइएको छ। प्रारम्भिक अनुसन्धानले ट्रक चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको देखाएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार घाइतेहरूलाई चेभेल्लाको सरकारी अस्पतालमा लगिएको छ भने गम्भीर घाइतेहरूलाई हैदरावादका अस्पतालहरूमा रिफर गरिएको छ। अधिकारीहरूले धेरै घाइतेको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जनाएका छन्।मृतकमध्ये बस र ट्रक दुवैका चालक र आमासँगै करिब १० महिनाको शिशु पनि रहेको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीहरूले घटनालाई हृदयविदारक बताउँदै यात्रुहरूले मद्दतका लागि गुहारिरहेको र स्थानीयहरू उद्धारमा खटिएको बताएका छन्।



