शेयर बजारमा सुधारको संकेत, लगानीकर्तामा उत्साह

तु खबर संवाददाता
२०८२ कार्तिक १६, आईतवार १५:२०

काठमाडौँ । पछिल्लो समय नेपाल शेयर बजारमा सुधारको स्पष्ट संकेत देखिन थालेको छ । साताको पहिलो कारोबारमा बजार दोहोरो अंकले वृद्धि भएको छ भने लगानीकर्ताको मनोबल पनि बलियो बन्दै गएको छ । निरन्तर हरियाली र कारोबार रकममा वृद्धि देखिनु बजार सुधारको दिगो संकेतका रूपमा लिइएको छ ।बजारमा सुधार आउनुका पछाडि नेपाल राष्ट्र बैंकले बजारलाई प्रभावित गर्ने केही नीतिहरूमा गरेको सुधारलाई मुख्य कारणका रूपमा हेरिएको छ । दशैं–तिहारको चहलपहलका कारण केही दबाब सिर्जना भए पनि बजार अब सकारात्मक दिशातर्फ अघि बढिरहेको छ ।

बजार सुधारमा सहयोग पुर्‍याउने अन्य प्रमुख कारणहरूमा ब्याजदरमा आएको निरन्तर गिरावट, सरकार तथा नियामक निकायको उदारवादी नीतिहरू, र लगानीकर्ताको आत्मविश्वासको पुनर्स्थापना प्रमुख रहेका छन् । यी सकारात्मक कारकहरूले बजारको आगामी यात्रा अझ उकासिने विश्वास दिलाएका छन् ।तर, राजनीतिक अस्थिरता भने अझै पनि बजारलाई प्रभावित गर्न सक्ने जोखिमका रूपमा रहँदै आएको छ । तोकिएको समयमा निर्वाचन हुने वा नहुने अनिश्चितताले लगानीकर्तामा केही त्रास कायम रहेको विश्लेषण गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा कायम भएको छ । यसदिन ३१९ कम्पनीका २ करोड ९७ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।आजका कारोबारमा १२ उपसूचकहरू हरियालीमा रहे । विशेषगरी फाइनान्स र जीवन बीमा समूहमा उल्लेखनीय वृद्धि देखिएको छ । वाणिज्य बैंक समूह ०.२९ प्रतिशत, विकास बैंक समूह ०.९० प्रतिशत, फाइनान्स समूह ५.१७ प्रतिशत, होटल तथा पर्यटन समूह १.२० प्रतिशत, र जीवन बीमा समूह ४.३५ प्रतिशतले बढेका छन् ।बजारमा देखिएको यो सुधारले लगानीकर्तामा नयाँ आशा जगाएको छ र निकट भविष्यमा बजार अझ स्थायित्वतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ ।