तुईन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
 तु खबर संवाददाता
तु खबर संवाददाता२०८२ कार्तिक १४, शुक्रबार ०९:५२
					 
 काठमाडौं ।मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिकै माथिबाट ढुंगाहरू खस्दा सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय चितवनका अनुसार ढुंगाहरू झर्ने क्रम रोकिएको छैन, जसका कारण सडक सञ्चालन असम्भव बनेको हो।
ढुंगा खस्ने क्रम रोकिएपछि मात्र मेशिन प्रयोग गरेर पहिरो पन्छाउने कार्य सुरु गरिने सडक डिभिजन कार्यालयले जनाएको छ। वर्षायाममा यो क्षेत्रमा लगातार पहिरो खस्ने जोखिम रहने भएकाले यात्रु र सवारी चालकहरूलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न कार्यालयले आग्रह गरेको छ।
सडक अवरुद्ध हुँदा उक्त मार्ग भएर गुड्ने सवारीसाधनहरू दुबै तर्फबाट रोकिएका छन्। सम्बन्धित निकायले जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी र पहिरो नियन्त्रणका प्रयासहरू अघि बढाउने तयारी गरेको जनाएको छ।



