गृहमन्त्री हटाउने दबाबबारे प्रधानमन्त्री कार्यालयको प्रतिक्रिया

तु खबर संवाददाता
२०८२ कार्तिक १३, बिहीबार १०:४०

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीलाई दबाब दिएको भन्ने हल्लाबारे प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीकी प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा सो हल्लाले प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन।”

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको अनुसार जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुसार गठन भएको वर्तमान सरकारले असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गरिरहेको र गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिइरहेका छन्।

विज्ञप्तिमा थप भनिएको छ, “यस संवेदनशील परिस्थितिमा यस्ता प्रकारका अफवाह नफैलाउन र नपत्याउन सबै सम्बन्धित पक्षहरूलाई अनुरोध गरिन्छ।”