मोन्था चक्रवात र पश्चिमी वायुको प्रभाव : देशभर वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशभर हाल पश्चिमी वायु, अरब सागरमा विकसित न्यून चापीय प्रणाली र बंगालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा आज दिउँसोदेखि नै बदली रही मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, साथै गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने संभावना पनि महाशाखाले जनाएको छ ।
महाशाखाले विशेषगरी कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपातको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । वर्षा र हिमपात हुने सम्भावना भएका स्थानमा यात्रा गर्ने सर्वसाधारण, साथै खेतीपातीमा संलग्न किसानलाई सतर्क रहन अनुरोध गरिएको छ ।



