लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सुरक्षित

तु खबर संवाददाता
२०८२ कार्तिक १२, बुधबार १०:२१

काठमाडौं । सोलुखुम्बुको लोबुचे क्षेत्रमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।

उक्त हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र सवार रहेका थिए। दुर्घटनामा हेलिकप्टरमा क्षति पुगेको भए पनि पाइलट खड्का सुरक्षित रहेको बताइएको छ।

घटनास्थलमा उद्धार टोली पुगेको छ भने सुरक्षाकर्मीहरूले विस्तृत विवरण संकलनको कार्य थालेका छन्। दुर्गम हिमाली क्षेत्रमा हुने हवाई आवागमन प्रायः मौसम र उचाइका कारण चुनौतीपूर्ण हुने गरेको छ।