सरकार, राजनीतिक दल र जेनजीबीच पहिलोपटक त्रिपक्षीय वार्ता आज

तु खबर संवाददाता
२०८२ कार्तिक १२, बुधबार ०८:४५

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनको वातावरण निर्माणका लागि सरकारले पहिलोपटक राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधिहरूसँग प्रत्यक्ष त्रिपक्षीय वार्ता गर्न लागेको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त वार्ता सुरु हुने कार्यक्रम छ।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरू र जेनजी पुस्ताका अगुवाहरुलाई एउटै मञ्चमा राखेर छलफल गर्न लागेकी हुन्। सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच पहिलोपटक हुने यो प्रत्यक्ष संवादले निर्वाचनको माहोल तयार पार्ने अपेक्षा गरिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचन सफल बनाउन सरकारले विभिन्न पक्षहरूसँग चरणबद्ध वार्ता र छलफलको प्रक्रिया अघि बढाएको छ। उनका अनुसार, “निर्वाचनको वातावरणका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको हो।”

यसअघि यही कात्तिक ४ गते सरकारले राजनीतिक दलहरूसँग प्रारम्भिक छलफल गरेको थियो। त्यसपछि आजको बैठकलाई आगामी निर्वाचन तयारीका लागि महत्वपूर्ण चरणका रूपमा लिइएको छ।

सरकारका प्रवक्ता खरेलले आन्दोलनकारी समूह र सत्ताबाट विस्थापित दलबीच लामो समयदेखि प्रत्यक्ष संवाद नहुँदा राजनीतिक अविश्वास बढेको बताए। उनका शब्दमा, “प्रधानमन्त्रीले दुई शक्तिलाई एउटै ठाउँमा राखेर छलफल गर्न लाग्नु भएको मुख्य उद्देश्य घोषित निर्वाचनमा सबै पक्षलाई सहभागी गराउने हो।”

प्रधानमन्त्री कार्कीको आह्वानमा यसअघि भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर तोकिएको समयभित्रै निर्वाचन सम्पन्न गर्ने विषयमा सबै पक्ष सकारात्मक देखिएका थिए। लामो समयपछिको यो औपचारिक राजनीतिक संवादले निर्वाचनमैत्री वातावरण तयार हुने सरकारको विश्वास छ।