उपचारका लागि सिंगापुर जाँदै शेरबहादुर देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्न लागेका छन् । आज राति ९ बजे देउवा, पत्नी तथा सांसद आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर रवाना हुने कार्यक्रम रहेको उनका पारिवारिक स्रोतले जनाएको छ ।
भदौ २४ गते भएको जेन जी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा देउवा दम्पतीमाथि आक्रमण तथा कुटपिट भएको थियो । घटनापछि सुरक्षाकर्मीले तत्काल उद्धार गरी उनीहरूलाई सेनाको सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो ।
कांग्रेस नेताहरूका अनुसार देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ । प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था स्थिर भए पनि दीर्घकालीन तथा विशेषज्ञ उपचार आवश्यक देखिएकाले सिंगापुर लैजान लागिएको हो । आरजु राणाको पनि स्वास्थ्य परीक्षण तथा उपचार सँगसँगै हुने बताइएको छ ।
देउवा दम्पती सिंगापुर पुगेर अस्पतालमा भर्ना हुने तयारीमा रहेको र उपचार अवधि चिकित्सकको परामर्शअनुसार निर्धारण हुने जनाइएको छ । नेपाली राजनीतिक वृत्तमा भने यस घटनापछि सुरक्षाको विषयमा नयाँ प्रश्नहरू उठेका छन् ।



