गुप्ता र शर्मा मन्त्री नियुक्त, दुबै जनाद्वारा पदभार ग्रहण

तु खबर संवाददाता
२०८२ कार्तिक ९, आईतवार १९:३७

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । उनले आज दुई जना मन्त्रीहरु नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराएका छन् ।

बब्लु गुप्ता र डा. सुधा शर्मालाई मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । गुप्तालाई युवा तथा खेलकुद र शर्मालाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरिएको हो । दुबै जना मन्त्रीहरुले आजै पदभार ग्रहण गरेका छन् ।  यो नियुक्तिसँगै मन्त्रिपरिषद्को संख्या १० पुगेको छ ।

खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई पनि मन्त्री नियुक्त गर्ने तयारी भएपनि उनीहरुको विवादहरु सार्वजनिक भएपछि मन्त्री नियुक्त भएनन् । भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले यसअघि भदौ ३० गते र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

निर्वाचन गराउने प्रमुख कार्यभार लिएर प्रधानमन्त्री नियुक्त भएकी कार्कीले अहिलेसम्म त्यसतर्फ ठोस कामहरु गर्न सकेकी छैनन् भने नियुक्ति र सरुवामात्रै केन्द्रीत भइरहेकी छिन् ।