निर्वाचन केन्द्रित सरकार: आज सुरक्षा समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८२ कार्तिक २, आईतवार ०९:१२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावलाई मुख्य प्राथमिकतामा राख्दै सरकारले निर्वाचनसम्बन्धी योजना, समन्वय र सुरक्षा तयारीलाई तीव्र बनाएको छ। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू तथा चारै सुरक्षा निकायका प्रमुखबीच भएको उच्चस्तरीय छलफलले सरकार निर्वाचनकेन्द्रित भएको सन्देश दिएको छ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत राष्ट्रपतिको उपस्थितिमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र राजनीतिक वातावरण निर्माणबारे गहन छलफल गरिएको जानकारी दिइन्। उनका अनुसार छलफल निर्वाचनका लागि आवश्यक वातावरण निर्माणदेखि सुरक्षा अवस्था सुदृढ पार्न केन्द्रित थियो।

यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ। बैठकमा गृह सचिव, रक्षा सचिव तथा चारै सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकले एकीकृत निर्वाचन सुरक्षा योजनाको समीक्षा गर्दै नीतिगत निर्देशन दिने बताइएको छ।

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ। यस समितिले तयार पारेको सुरक्षा योजना प्रत्येक जिल्लामा पठाइनेछ र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले त्यसको कार्यान्वयन गर्नेछ। उपसचिव रवीन्द्र अधिकारी समिति सदस्य–सचिव रहेको जानकारी छ।

गृहमन्त्री अर्यालले भने, “हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ। एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा तयार भइरहेको छ। निर्वाचन आयोगसँग सघन समन्वय भइरहेको छ र आवश्यक स्रोत–साधनको कुनै कमी नहुने गरी काम गरिरहेका छौँ।”

प्रधानमन्त्री कार्कीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ, “सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना सबै गतिविधि केन्द्रित गरेको छ।” उनले सहज राजनीतिक निकासका लागि सबै पक्षलाई निर्वाचन सफल बनाउन सहयोग गर्न पनि आग्रह गरेकी छन्।