ललितपुरमा ओलीको सम्बोधन : ‘एमाले सुशासन र स्थिरताको अगुवा पार्टी हो

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हटेको भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन्।
बुधबार ललितपुरमा सुरु भएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले कमजोर नभएको र अझै पनि देशको राजनीतिक, आर्थिक तथा विकासको नायकत्व गर्ने पार्टी रहेको दाबी गरे।
उनले भने, “एमाले सरकारमा हुँदा र नहुँदा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकको प्रतिवेदनले देखाएको छ। सधैंका लागि एमाले सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ। एमाले राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो, व्यवहारमा यसले पुष्टि गरिसकेको छ।”
अध्यक्ष ओलीले आफ्नो पार्टीका नीति र कार्यशैली राम्रो भएकै कारण एमाले धेरै निशानामा परेको बताए। उनका अनुसार, “अरुभन्दा हामी धेरै निशानामा परेका छौं। हाम्रा नीति राम्रा भएरै हामीमाथि प्रहार भइरहेका छन्।”
उनले एमाले नेपालको कम्युनिष्ट आन्दोलनको वैचारिक र व्यवहारिक निरन्तरताको अगुवाई गर्दै आएको उल्लेख गर्दै भने, “नेपालमा सुशासन, सुव्यवस्था र स्थिरताको आन्दोलनमा हामी अगाडि रहेका छौं। जबज प्रतिपादन हुनुभन्दा अघि र पछि दुवै अवस्थामा एमालेले प्रभावकारी भूमिका खेलेको छ।”
ओलीले बैठकमा पार्टीका राम्रा काम र उपलब्धिहरूको पनि स्मरण गराउँदै एमाले अझै पनि देशको स्थायित्व र विकासको आधारस्तम्भका रूपमा रहेको बताए।