देशभरका विभिन्न राजमार्ग अवरुद्ध, केही स्थानमा एकतर्फी सुचारु

तु खबर संवाददाता
२०८२ आश्विन २२, बुधबार १०:१७

काठमाडौं । नेपाल प्रहरीका अनुसार आज पनि देशभर अविरल वर्षा र बाढी–पहिरोका कारण विभिन्न राजमार्गहरू अवरुद्ध रहेका छन्।

कोशी राजमार्ग संखुवासभाको एकुवा र बरुणखोलामा अवरुद्ध रहेको छ भने बीपी राजमार्ग सिन्धुलीको नेपालथोक र काभ्रेका विभिन्न स्थानहरूमा पहिरो खसेका कारण यातायात ठप्प भएको छ।

मध्य पहाडी लोकमार्ग र कोशी लोकमार्ग अवरुद्ध रहेको धनकुटामा भने एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ। यस्तै, मदन भण्डारी राजमार्ग र कान्ति लोकपथ पनि एकतर्फी रुपमा सुचारु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले पहिरो हटाउने काम जारी रहेकाले सडक सञ्चालनमा केही समय लाग्ने जनाएको छ। यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।