निरन्तर वर्षापछि मनोहरा–विष्णुमति आसपास उच्च जोखिम

तु खबर संवाददाता
२०८२ आश्विन १८, शनिबार १७:०१

काठमाडौं । अविरल वर्षासँगै काठमाडौं उपत्यकामा बागमती, मनोहरा, विष्णुमति र नख्खु खोलासहितका नदी–खोलाको जलस्तर बढेपछि तटीय बस्तीहरू डुबानमा परेका छन्। विशेषगरी बागमती किनारका सुकुम्वासी बस्तीमा पानी पसेपछि स्थानीयवासी विस्थापित हुन थालेका छन्।

ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकामा जलस्तर ३.५८ मिटर पुगेको छ। त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर नाघिसकेको छ भने नख्खु खोलासहित अन्य सहायक नदीहरूमा पनि जलस्तर तीव्र गतिमा बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

डुबानको जोखिम बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरी प्रभावित बस्ती खाली गराउने कार्य सुरु गरिएको छ। सुरक्षाकर्मीहरूले घर–घरमा पुगेर अवस्था बुझ्ने, नागरिकलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेका छन्।

अधिकारीहरूले हनुमन्ते, मनोहरा, विष्णुमति र नख्खु खोलाको आसपासका बस्तीहरू, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र मेडिसिटी अस्पताल आसपासका क्षेत्रलाई उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरेका छन्।

आगामी २४ घण्टासम्म निरन्तर वर्षा हुने सम्भावना रहेकाले गत वर्षझैं ठूलो बाढी आउन सक्ने चेतावनी दिँदै सम्बन्धित निकायलाई उच्च सतर्कतामा रहन र स्थानीयवासीलाई जोखिमपूर्ण स्थानबाट तत्काल सुरक्षित क्षेत्रमा सार्न निर्देशन दिइएको छ।