अविरल वर्षाले देशका प्रमुख राजमार्ग अवरुद्ध,सवारीसाधन दुवैतर्फी होल्ड

तु खबर संवाददाता
२०८२ आश्विन १८, शनिबार १२:३०

काठमाडौं । अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका विभिन्न प्रमुख राजमार्गहरूमा सवारी साधन सञ्चालनमा अवरोध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ सार्कीपोखरी, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जबाङखोला, रामेछापको गोकुलगंगा गाउँपालिका–८ पुजाखोला र सोही गाउँपालिकाको ७ नम्बर वडामा पर्ने सुम्पुखामा समेत राजमार्ग सञ्चालनमा अवरोध भएको छ । नेपाल प्रहरीले प्रभावित क्षेत्रमा पहिरो पन्छाउने र सडक खुलाउने कार्य जारी रहेको जनाएको छ । साथै, यात्रु र चालकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरिएको छ ।

काठमाडौं–नागढुङ्गा खण्डमा पनि बिहान ७:०० बजेदेखि दुबै तर्फका सवारी साधन रोकिएका छन् । चन्द्रागिरिबाट नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ जाने सवारी साधनलाई अर्को आदेश नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

दोलालघाटसम्म पर्ने सो खण्डमा अविरल वर्षाका कारण पहिरो तथा थप जोखिम बढेपछि दुवैतर्फी सवारी साधन अनिश्चित समयसम्मका लागि होल्ड गरिएको हो । सडक बन्द भएपछि यात्रुहरू बीचैमा रोकिएका छन् भने सुरक्षाकर्मी र प्राविधिक टोलीले सतर्कताका साथ सडक खोल्ने प्रयास गरिरहेका छन् ।