बङ्गालको खाडीबाट आएको मनसुनी वायूको प्रभाव, देशभर नीरन्तर वर्षा

तु खबर संवाददाता
२०८२ आश्विन १८, शनिबार ०८:०३

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले अहिले देशभर वर्षा भइरहेको छ । भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेका बादलको बाहिरी घेराले देशका धेरै भूभाग प्रभावित बनेका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । विशेषगरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

त्यस्तै, कोसी प्रदेशका एक–दुई स्थान, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ भने मधेस, बागमती र गण्डकीका पहाड र तराई भूभागका केही स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

हाल खासगरी मधेसदेखि कर्णालीसम्मका जिल्लाहरूमा वर्षा भइरहेको छ । महाशाखाले पानी पर्ने क्रम कम्तीमा असोज २० गतेसम्म जारी रहने अनुमान गरेको छ ।