देशभर भारी वर्षाको सम्भावना, प्राधिकरणद्वारा उच्च सावधानीको आग्रह
काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा आगामी दिनमा हुने तीव्र वर्षाका कारण विपद् जोखिम बढ्न सक्ने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी १७ देखि २० असोजसम्म देशका धेरैजसो स्थानमा भारी वर्षा हुने सम्भावना छ। यस क्रममा बाढी, पहिरो, डुबान तथा जलजमावट हुने उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ।
विशेषगरी काठमाडौं उपत्यका, बागमती, कर्णाली, सुदूरपश्चिमका जिल्लाहरुमा जोखिम बढी हुने देखिएकाले नदी किनार, खोला किनार, पहिरो सम्भावित क्षेत्र तथा जलाधार नजिकका बस्तीमा विशेष सतर्कता अपनाउन अपील गरिएको छ।
प्राधिकरणले स्थानीय तहका विपद् व्यवस्थापन समितिहरू, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकलाई आवश्यक तयारीमा रहन र सम्भावित घटनामा तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन आग्रह गरेको छ। साथै, नागरिकलाई अनावश्यक यात्रा नगर्न, सुरक्षा सतर्कता अपनाउन तथा मौसम पूर्वानुमानअनुसार सावधानीपूर्वक निर्णय लिन सुझाव दिइएको छ।
प्राधिकरणले विपद् व्यवस्थापनमा संलग्न सम्पूर्ण निकायलाई पूर्वतयारीसहित खटिन र सम्भावित जोखिम न्यूनीकरणका लागि सक्रिय रहन आह्वान गरेको छ।




