वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा विशेष पुजा आराधना

तु खबर संवाददाता
२०८२ आश्विन १५, बुधबार ०८:१८

काठमाडौं । नवरात्रको नवौं दिन अर्थात् महानवमीको अवसरमा सोमबार राजधानीस्थित ऐतिहासिक तलेजु भवानी मन्दिर भक्तजनका लागि विशेषरूपमा खुला गरिएको छ । वर्षमा एक दिनमात्र खुल्ने यस मन्दिरमा दर्शन र पूजाअर्चना गर्न बिहानैदेखि भक्तजन लामबद्ध भएका थिए।

नेवार समुदायले इष्टदेवता र मातृशक्तिका प्रतीकका रूपमा तलेजु भवानीलाई विशेष श्रद्धा अर्पण गर्ने परम्परा रहेको छ। ‘तुलजा’ नामले पनि चिनिने तलेजु भवानीलाई दैवीशक्तिको रूपमा पूज्ने प्रचलन रहँदै आएको छ।

दसैँको महानवमीका दिन मात्र मन्दिर खुल्ने भएकाले आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। भक्तजनहरूले विधिपूर्वक पूजा–आराधना गर्दै आफ्नो मनोकामना पूर्तिको कामना गरेका थिए।

काठमाडौं दरबार क्षेत्रमा अवस्थित तलेजु भवानी मन्दिरलाई ऐतिहासिक एवं धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यस दिन सरकारी स्तरमा समेत विशेष पूजा तथा बलि दिने परम्परा रहँदै आएको छ।

तलेजु भवानी मन्दिरमा आजको दर्शनले भक्तजनलाई वर्षभरको धार्मिक र आध्यात्मिक सन्तोष दिलाउने विश्वास गरिन्छ।