टोपबहादुर रायमाझी सोमबार कारागारमा उपस्थित

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते अन्य कैदीबन्दीसँगै केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी सोमबार कारागार फर्किएका छन् ।
केन्द्रीय कारागारले रायमाझी हिजो कारागारमा उपस्थित भएको पुष्टि गरेको छ । ‘उहाँ हिजो फर्किनुभएको हो,’ कारागार प्रशासनले जानकारी दिएको छ ।
भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा अदालतको आदेशले थुनामा रहेका रायमाझी आन्दोलनको दिन कैदीबन्दीसँगै भागेका थिए । उनी फरार रहे पनि अवस्था सामान्य भएपछि आफैँ कारागार उपस्थित हुने भन्दै प्रशासनलाई फोन सम्पर्क गरेका थिए ।
फरारकै सूचीमा रहेका अन्यलाई सुन्धारामै राखिएको भए पनि रायमाझीलाई भने डिल्लीबजार कारागारमा सारिएको छ ।