प्रदेशसभाको सञ्चालन अनकुल समयमा गर्ने काँग्रेस संसदीय दलको निर्णय

तु खबर संवाददाता
२०८२ आश्विन १, बुधबार १९:४३

हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको सञ्चालन अनुकुल समयमा गर्ने निर्णय गरेको छ ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षमा बसेको सो बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलसित संवाद गरी अनुकुल समयमा निर्णय गरिने प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

जेन जी आन्दोलनपछि विकसित भएका घटनाक्रम र प्रदेशसभाको विद्यमान अवस्था समेतका बारेमा बैठकमा छलफल भएको थियो ।

जेन जी आन्दोलनका क्रममा भदौं २४ गते नवनिर्मित प्रदेशसभा भवनमा आगजनी र तोडफोड भएको थियो । त्यसरी आगजनी हुँदा प्रदेशसभाको भवन पूर्णरुपमा क्षति भएको छ । इन्द्र बहादुर बानियाँ मुख्यमन्त्री भएपछि उद्घाटन भएको सो भवन क्षतिग्रस्त भएपछि अबको प्रदेशसभा बैठक कहाँ बस्ने भन्ने समस्या देखिएको छ ।