जेन–जी आन्दोलनले रोकिएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो

काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार मौका परीक्षा यही असोज ७ गते र ८ गतेका लागि तोकिएको छ ।
७ गते अनिवार्य अंग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रोदिन नेपालीको परीक्षा दिनु पर्नेछ ।