धेरै स्थानमा मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
सुदूरपश्चिमका थोरै स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर सामान्यतया बदली रहने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले वर्षा बढेको महाशाखाले जनाएको छ । धेरै स्थानमा गएरातिदेखि नै पानी परिरहेको छ ।
वर्षाका कारण बाढी तथा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।