भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल फेला

काठमाडौँ । विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार दिउँसो जलेको अवस्थामा मानव कंकाल फेला परेको छ। दिउँसो करिब २ः३० बजेतिर मार्केटको दोस्रो तलामा पूर्ण रूपमा जलेर नचिनिने अवस्थामा हड्डीहरू भेटिएका हुन्।
कंकाल पुरुष वा महिला कसको हो भन्ने छुट्याउन नसकिएको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुमानअनुसार आगलागीका बेला चोरीको प्रयास गर्ने व्यक्तिको जलेर मृत्यु भएको हुन सक्ने देखिएको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले भाटभटेनीमा आगजनी, तोडफोड र लुटपाट गरेको थियो। सोही घटनामा संलग्न वा त्यस बेला देखिनै हराएका व्यक्तिको मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ।