संगीतकार, साहित्यकारभन्दा पनि गीतकारकै रूपमा चिनिदिऊन्

करिब अढाई दशक पुरानो भीम विरागको अन्तर्वार्ता
तु खबर संवाददाता
२०८२ भाद्र २९, आईतवार २२:११
फोटो क्रेडिट : भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालको फेसबुक पेज

माता लक्ष्मीदेवी र पिता तुलसीबहादुरको कोखमा विक्रमाब्द १९९१ माघ १५ गते जेष्ठ सुपुत्रको रुपमा वीरगञ्ज माईस्थानमा जन्मनु भएका घणबहादुर महर्जन नेपाली साहित्य जगतमा ‘भीम विराग’को नाममा चिर–परिचित हुनुहुन्छ । उहाँको दुखेको इन्द्रेणी (गीतसंग्रह), तातो सुस्केरा (कवितासंग्रह), आठ टुक्रे बादल (कथासंग्रह), अतृप्त स्पर्श (गीतसंग्रह), अज्ञात प्रारम्भ (खण्डकाव्य), स्वर सम्राटको सम्झना (संस्मरण), भीम विरागका कविता, भीम विरागका गीत गजल प्रकाशित भइसकेका छन् भने उत्सवको मृत्यु संगीत (कविताकृति) प्रकाशोन्मुख छ । प्रबल गोरखा दक्षिण बाहु चौथो (२०२७), गद्दी आरोहण रजत पदक (२०५३), मकवानपुर संगीत पुरस्कार (२०५५), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), जस्ता अनेकौँ अलंकार र पुरस्कारका धनी उहाँ दर्जनौँ सम्मान र अनिनन्दन विभूषित हुनुहुन्छ । प्रस्तुत छ, राम अविकास ले उहाँकै निवासमा लिएको तीन घण्टा लामो अन्तर्वार्ताको सारसंक्षेप :

प्रश्न : साहित्यिक यात्रा कहिलेदेखि प्रारम्भ गर्नु भयो ? साहित्य लेखनको प्रेरणाको स्रोत बताइदिनु हुन्छ कि ?

उत्तर : विधिवत् प्रारम्भको कुरो गर्नुपर्दा बनारसबाट प्रकाशित हुने ‘उदय’ मासिकमा २०१४/१५ सालतिर कविता छपाएर नै भनौँ । मेरो पिता धेरै गीत लेख्नु हुन्थ्यो, कान्छाबुवा कथासथा लेख्नु हुन्थ्यो भने पडोसीमै विद्वान् ब्राह्मणले आफ्ना छोरा नातिलाई ‘वेद’ पढाउँदा वेदको ध्वनिले म पनि जाग्थें र सँगै पलेटी कसेर म पनि बोलीमा बोली मिलाउँथें । त्यस्तै २००८/०९ सालतिर वीरगञ्जतिर हिन्दी गीतको मात्रै प्रचलन थियो । हिन्दी गीतलाई नेपालीकरण गरेर त्यही लयमा गाउने परम्परा आदि … नै मेरा प्रारम्भिक प्रेरणाका स्रोत हुन् ।

प्रश्न : कुनै कार्यक्रममा तपाईँले आफ्नो नाम ‘भीम बहादुर श्रेष्ठ’ बताउने भएको थियो तर २०५७ चैत्रको मिर्मिरे मासिकमा ‘धनबहादुर महर्जन’ उल्लेख गरिएको छ । तपाईँको दृष्टिमा भीम विरागेको वास्तविकता के हो ? मकवानपुरे साहित्य प्रवाहमा स्वयंको उपस्थितिलाई कुन रुपमा मूल्यांकन गर्नु भएको छ ?

उत्तर : मेरो हजुरबुबा न्हुच्छेमान शाक्यका दुई श्रीमती थिए । महर्जन जातिको मेरो बज्यू परेको हुँदा उक्त बेलाको राणकालीन जमानाअनुसार म शाक्यबाट महर्जन भएँ । हामी मामाघरमा पालिएको हुँदा आई.ए.सम्मको सर्टिफिकेटमा भीमबहादुर महर्जन लेखिएको छ । अझ धनबहादुर पनि होइन, त्यहाँ गल्ती भएको छ । धनबहादुर मेरो न्वारनको नाम हो । म पहिलेदेखि नै अस्वस्थ थिएँ र पछि ‘पेननेम’ भनेर बहादुर हटाई भीम विराग राखें । २०२६ सालमा गोरखा दक्षिण बाहुमा ‘भीम विराग श्रेष्ठ’ भनेर नाम निस्क्यो । म भीम विराग श्रेष्ठ होइन बरु भीम विराग महर्जन हुनुपर्ने भी ‘प्रोटेस्ट’ गर्दा तत्कालीन अञ्चलाधीशले ‘राजाले जात, ओहदा, मान पदवी दिन पनि सक्छ लिन पनि सक्छ । त्यसकारण आजदेखि तपाईँ भीम विराग श्रेष्ठ हुनुभयो’ भन्नु भयो । ‘श्रेष्ठ’ राजाबाट पाएको टाइटल हो मेरो जात चाहिँ होइन । मैले कहिल्यै पनि भीम विराग श्रेष्ठ भनेर लेखिनँ म मात्र भीम विराग भनेर चिनिन चाहन्छु, म मान्छे भएर, भीम विराग भएर बाँच्न चाहन्छु ।

मकवानपुर मेरो कर्मथलो हो, वास्तवमा मेरो जन्म त वीरगञ्ज हो । मलाई मकवानपुरले आफ्नो ठान्छ भने म मकवानपुरे हुँ र ठान्दैन भने पनि त्यसमा मेरो कुनै आपत्ति छैन । म यहाँ रैथाने भएर बसेको छु र म चाहन्छु मेरो अन्तिम संस्कार यही रमणीय स्थलको रापती नदीमै होस् । साहित्य मेरो पूजा हो, साधना हो । यहीं बसेर मैले सातवटा कृति रचेको छु, अझै साधना गरौँ भन्ने सोचाइ छ । मकवानपुरे साहित्यमा मेरो के स्थान छ र म कुन स्थानमा बस्न चाहन्छु भन्ने मेरो कुनै पनि तर्क होइन । या म त्यत्तापट्टि कहिल्यै गएको छैन ।

प्रश्न : आफ्ना रचनामध्ये सबैभन्दा मन परेको रचना कुन होला ?

उत्तर : खै । मन परेको रचना अझै पनि लेख्न सकिएको छैन ।

प्रश्न : तपाईँ गीतकार, गायक, संगीतकार अझ भनौँ बहुप्रतिभाशाली हुनुहुन्छ । तपाईँलाई भने आफू कुन रुपमा चिनियोस् भन्ने भन्ने चाहनु हुन्छ ?

उत्तर : संगीतकार, साहित्यकारभन्दा पनि म गीतकारकै रुपमा कसैले चिनिदेओस् भन्ने लागेको छ, किनभने मेरा गीतहरु स्वर सम्राट नारायण गोपालले गाएर ठूलो गुन लगाउनु भएको छ ।

प्रश्न : साहित्यलाई कसरी परिभाषित गर्नु हुन्छ ? जीवन, साहित्य र मृत्युको बारेमा तपाईँको दृष्टिकोण ?

उत्तर : मलाई लाग्छ – जीवनको परिभाषा साहित्यले गर्छ जस्तो लाग्छ । साहित्य जीवनकै एउटा अङ्ग हो । जीवन नभै साहित्य हुँदैन । जीवनका यात्रामा अनुभव भएको कुरा साहित्य हो जसले समाजको चित्रण गर्छ । मृत्यु भनेको अन्तिम विश्राम हो जीवन भनेको यात्रा । मृत्यु भैसकेपछि त विश्रामै विश्राम छ ।

प्रश्न : आस्था र वादको नाममा साहित्यलाई विभिन्न किसिमले परिभाषित गरिएको छ । तपाईँको विचार साहित्य कस्तो हुनुपर्छ ?

उत्तर : आस्था र वादमा मलाई विश्वास छैन । साहित्य आस्था र वादमा आधारित भो भने त्यो एकातिर ढल्केको साहित्य हुन्छ । साहित्यले वादलाई डोर्‍याओस् तर कुनै पनि वादले साहित्यलाई नडोर्‍याओस् ।

प्रश्न : भनिन्छ : लेखनमा ‘मुड’को आवश्यकता पर्छ ? के वास्तवमै आवश्यकता पर्छ त ? तपाईँ अक्सेर गरेर कुन कस्तो समयमा लेख्नु हुन्छ ? साथै किन र कसका लागि लेख्नु हुन्छ ?

उत्तर : बिना मुडको त केही हुँदैहुँदैन, सृजना नै हुँदैन । भोकाएकाले मात्रै खाना खान सक्छ भनेझैँ लेखनको लागि परिवेश हुनुपर्छ । प्रायः जसो म एकान्तमा खास गरी रातको एक निन्द्रा सुतिसकेर मूड आएमा लेख्न सक्छु । साहित्यकार, संगीतकार संवेदनशीलताबाट ग्रसित हुन्छ । त्यो संवेदनशीलता आउनुपर्छ । ‘मुड’ भन्नु नै लेख्ने आकांक्षा, इच्छा हो ।

खोई कसका लागि लेख्नु मलाई था छैन, मुड आयो भने लेखें । भन्नु पर्दा जब मेरो कपीमा हुन्छ, त्यो मेरै लागि भैराख्या हुन्छ, जब त्यो प्रकाशित हुन्छ अनि त्यो पाठकको लागि हुन्छ ।

प्रश्न : साहित्यमा लागेको के पाउनु भयो ? के गुमाउनु भयो ? यस क्षेत्रमा लागेर हीनताबोध त भएको छैन ? साहित्यमै लागेर जीवन चलाउन सकिन्छ ?

उत्तर : साहित्यमा केही पाउन भनेर लागिँदै लागिदैन, यो निश्चय नै छ । तर यसमा लागेर धेरै कुरा पाएको छु । तपाईँले मेरो कोठाभरिएको तस्बीरहरु त्यसभित्रका अभिनन्दन–पत्रहरु देख्नु भएको छ, यी सबैले पाउने कुरा होइनन् । समाजबाट अभिनन्दित हुने मौका पाएको छु । साहित्यमा लागेर हिनताबोध हुने कुरै छैन । यत्रो मानसम्मानको प्राप्ति, तर शिखरमा चाहिँ पुग्नुपर्छ । दुई चार कविता लेख्ने चाहना राखेर साहित्यकार होइदैन, निरन्तर साधना चाहिन्छ । लेखनले मात्र गुजारा हुने स्थिति हाम्रो नेपालमा भैसकेको छैन ।

प्रश्न : मकवानपुरे साहित्य फाँटमा अग्रजहरुले जुन भूमिका नवप्रतिभाहरुको लागि निभाउनु पथ्र्यो त्यो भएको छैन भन्ने आरोप छ नि, किन होला ?

उत्तर : खै त्यो आरोपप्रति त मलाई कुनै जानकारी छैन । जुन गर्नुपर्ने भन्ने मार्गदर्शन हो त्यो त दिनुपर्नेले भन्दा लिनुपर्नेले लिनुपर्छ । मार्गदर्शन दिइरहेकै छन् । आज जति पनि नवप्रतिभाहरु माथि गैरहेछन् त्यो मार्गदर्शन जुन पुरानाहरुले खने त्यहीमा त आइरहेछन् नि । जस्तो कुनै जगविना त घर घर बन्दैन, आज यत्रा साहित्यको घर बनेको छ । त्यो बुझ्नमा अलि फरक मात्र भा हो ।

प्रश्न : भीम विराग जस्तो राष्ट्रिय व्यक्तित्वलाई मकवानपुरे साहित्यकारहरुले केही गरेनन् भन्ने भनाइ छ । यसमा तपाईँको धारणा के छ ?

उत्तर : मलाई त यस्तो लाग्दैन, धेरै गरिरहेछन् । बस्न दिएका छन् । यहीबाटै खाइरहेछु । बेलाबेलामा अभिनन्दन पनि गरेका छन् ।
प्रश्न : जस्तो कि ?

उत्तर : यही हेर्नुहोस, जेसीजले भर्खरै मात्र अभिनन्दन गरेको छ । सिजन ग्रुपले अस्ति मात्रै अभिनन्दित गर्‍यो । विश्वेश्वर आलोक अध्ययन मञ्चले संगीतमा प्रतिभा पुरस्कार दिएको छ । दिएका छन्, गरेका छन्, आफूले सक्दो ।

प्रश्न : भन्नाले चित्तबुझ्दो छ ?

उत्तर : चित्त बुझेको देखिँदैन, यति विशाल छ कि त्यो कहिल्यै बुझ्दैन ।

प्रश्न : प्रजातन्त्र प्राप्तिभन्दा अगाडि र पछाडिको मकवानपुरे साहित्यको तुलना गरिदिनुहोस् न ।

उत्तर : प्रजातन्त्र प्राप्ति (पुनर्बहाली) भन्दा अगाडि त केही पनि थिएन । अहिले त पहिलेको तुलनामा धेरै नै राम्रो भएको छ । अझ भनौँ मकवानपुरमा जति जागरुक भएको त बारा, पर्सा, रौतहट पनि छैन । चितवन हाराहारीमा होला । यहाँ कलाकारिता र साहित्यमा राम्रो विकास हुँदै गएको पाएको छु र भविष्यमा पनि राम्रो हुने देखिएको छ । धेरै राम्रा लेख्ने लेखिका/कवयित्रीहरु पनि निस्किरहेछन् । तर ती लेखिका/कवयित्रीहरु भोलि घरजम गर्न गएपछि त्यो लेखनमा निरन्तरता हुन्छ कि हुँदैन, त्यो गहन कुरा हो । लेखनमा निरन्तरता भैरह्यो भने साहित्यकारको संख्यात्मक र गुणात्मक दुवै उल्लेख्य वृद्धि हुनेछ ।

प्रश्न : साहित्यमा पनि राजनीतिमा जस्तै नाता र फरियावाद लाग्छ भन्छन् । यसमा सत्यता कति छ होला ?

उत्तर : त्यो म मान्दिनँ । मेरा त कोही पनि छैनन् । सुरुदेखि नै थिएनन् । मलाई सिफारिस गर्ने कोही पनि छैनन् तर पनि राष्ट्रिय पुरस्कारहरु (२०४३ सालमा छिन्नलता पुरस्कार, २०२६ मा गोदवा, नारायणी अञ्चल पुरस्कारहरु, २०५७ मा राष्ट्रिय प्रतिभा पुरस्कार) पाएको छु ।

प्रश्न : नेपाली साहित्य राजधानीमुखी भइरहेको छ, मोफसलका स्रष्टाहरुका रचना छापिँदैनन्, नामको भनसुनको आवश्यकता पर्छ – भनिन्छ नि । यस सम्बन्धमा तपाईँ के भन्नुहुन्छ ?

उत्तर : छापिनुभन्दा पनि स्तरीयताको कुरा आउँछ । तपाईँ पनि सम्पादक हुनुहुन्छ, तपाईँ कहाँ आएका सबै छापिँदैनन् तर तपाईँ प्रतिभाशालीलाई रोक्न पनि सक्नुहुन्न । २,४,५ वटा लेख्ने बित्तिकै राष्ट्रियस्तरका गरिमा, मधुपर्कमा छापियोस् भनी हतारिन्छौँ । राष्ट्रियस्तरका पत्रिकामा छापिन त स्तरीयता, भाषा, भावना, नवीनता, शुद्धीकरण, अध्ययन आदि चाहिन्छ । सच्चा साधकले प्राप्तिको आकांक्षा राख्दैन ।

मोफसललाई राजधानीले बहिस्कार गर्‍यो भन्न चाहिँ कुनै पनि हालतमा मिल्दैन । जति पनि साहित्यकार राजधानीमा छन् ती सबै मोफसलबाट गएका न हुन् । त्यसैले म साहित्यकार बन्धुहरुलाई के भन्न चाहन्छु भने तपार्इँको साधना सत्य छ भने, प्रयत्नमा लागिरहनु भएको छ भने, तपाईँको समय अवश्य नै आउने छ र छापिने छ ।

प्रश्न : साहित्यमा यौन बिम्ब एवम् प्रयोगको सम्बन्धमा तपाईँको धारणा के छ ?

उत्तर : यौन समाजबाटै आएको विषय हो । साहित्यलाई समाजको दर्पण मानिन्छ भने बिम्बहरु किन आउनु हुँदैन ? आउनुपर्छ तर अति नाङ्गो बिम्बहरु समाजमा पच्दैन । समाजले पचाउन सक्ने गरी, विषयान्तर नहुने गरी आवश्यक परेमा मात्र प्रयोग गर्नु राम्रो हुनेछ । म यौन बिम्बको प्रतिकूलतामा छैन । यौन बिम्बहरु लेखिनु पर्छ तर दायराभित्र रहेर मात्र ।

प्रश्न : तपाईँको जीवनमा घटेका सुख–दुःखका अविस्मरणीय क्षणहरु सुनाइदिनुहोस् न ।

उत्तर : धेरै छन् त्यस्ता अविस्मरणीय क्षणहरु । अहिले म संस्मरण लेख्दैछु, त्यसमा तपाईँहरुले पढ्नु नै हुनेछ । ती मध्ये : वीरगञ्जमा २०२२/२३ सालतिर भूमिसुधार लागू भएको थियो । भूमिसुधारकै विषय बनाएर ‘किसान’ नाटक लेखेको थिएँ, त्यसलाई निर्देशन, संगीत सबै मेरै थियो । तपाईँलाई अचम्म लाग्ला, त्यसबेला मेरो कुनै पनि अङ्ग चलाउनु हुँदैनथ्यो । मेरो क्रियाकलाप देखेर श्री ५ महेन्द्र सरकारले औषधिको लागि जहाँ लगे ठिक हुन्छ, त्यहाँ पठाउनु भन्ने आदेश दिएको क्षण । त्यसबेला मेरा कलाकार साथीहरु ‘भीम दाइ अब बाँच्ने भो’ भनेर आँसु झारेका थिए । खुसीको क्षण यही हो भने अहिले म सिङ्गो आकाश हेर्न सक्दिनँ ।

अहिले पनि ‘सुगर’ र ‘ब्लडप्रेसर’को बिरामी छु । मान्छेहरु भीम विराग घरबाट बाहिरै आउँदैन घमण्डी छ भन्छन् योभन्दा दुखद क्षण के हुन सक्छ ?

प्रश्न : आफूले सृजना गर्नुभएका रचनाहरुमा तपाईँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ? आफ्नो रचनाको पाठकहरुले के पाओस् भन्ने सोच्नु हुन्छ ?

उत्तर : रचनाबाट सन्तुष्ट भयो भने त त्यो अन्तिमकाल हुन्छ । म आफ्नो रचनाबाट कहिले सन्तुष्ट भइनँ र हुँदिन पनि किनभने अझै लेख्ने प्रेरणा त असन्तुष्टिबाटै प्राप्त हुन्छ । भावनालाई उद्धरित गरिकन लेख्छु, त्यो भाव बुझोस् भन्ने चाहन्छु । पाठकलाई यही नै दिन्छु भनेर म पस्किन सक्दिनँ ।

प्रश्न : साहित्यमा लागेका नवप्रवेशीहरुलाई के भन्नु हुन्छ ?

उत्तर : साधाना गर्नुहोस्, साहित्यको साधक बन्नुहोस् । प्रकाशनमा भन्दा पठनपाठन र लेखनमा बढी ध्यान दिनुहोस् ।

प्रश्न : लघु साहित्यिक पत्रिकालाई तपाईँ कसरी हेर्नुहुन्छ ?

उत्तर : मान्छे एकचोटि ६/७ फुटको जन्मदैन । एक/दुई किलोको जन्मिई बिस्तारै बिस्तारै नै ७०/८० किलोको ६/७ फुटे हुन्छ । तसर्थ साहित्यमा भर्खरै जन्मेका लघुपत्रिकाहरु नै भविष्यका ठुला ठुला पत्रपत्रिकाका, साहित्यकारहरुका, साहित्यका जग हो भन्ने मेरो धारणा छ ।

प्रश्न : भुमरी साहित्यिक लघुपत्रिकाको बारेमा तपाईँको धारणा के छ ? यसले कस्ता रचनाहरुलाई ध्यान दिनु पर्ला ?

उत्तर : साहित्यिक पत्रिका प्रकाशन गर्नु भनेको तपस्या हो, साहित्यको सेवा हो । व्यापारको हिसाबले, सौखले साहित्यिक पत्रिका निकाल्ने कमजोरीले गर्दा दुई/तीन अंक निस्केपछि बन्द हुने गर्छन् । निरन्तरता नभए निकाल्नुको कुनै अर्थ रहँदैन । सेवाभावले झिक्नु हुन्छ भने सफलता निश्चित छ । भर्खरै प्रथम वर्ष पूरा गरेको छ । मेरो शुभकामना यसले स्तरीयता र निरन्तरता कायम गरोस् ।

सम्पादकको हैसियतले कस्ता रचना दिन्छु भनेर निकाल्नु भएको छ, त्यसमा भर पर्छ । जथाभावी पाराका, मेरो पनि त्यहाँ आओस् भन्ने खालका रचनाहरु होइन, स्तरीय रचनाहरुले स्थान पाउनुपर्छ ।

प्रश्न : अन्त्यमा मैले सोध्न बिर्सिएको तर तपाईँले भन्न पाए हुन्थ्यो जस्तो लागेको कुनै कुरा छ भने कृपया भनिदिनुहोस् न ।

उत्तर : तपाईँले यति प्रश्न सोध्नु भयो कि बाँकी त केही पनि रहेन । प्रश्नहरु सोधेर मनका कुरा भन्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।

प्रश्नकर्ता : आफ्नो अस्वस्थताको बाबजुद पनि हामीलाई यति लामो तीन घण्टाको समय दिनु भयो । यसको लागि म हृदयदेखि धन्यवाद दिन चाहन्छु ।

विराग : धन्यवाद ।

प्रस्तोता : हरेराम आचार्य ‘रब्त’

(भुमरी साहित्यिक त्रैमासिक वर्ष २, अङ्क १, पूर्णाङ्क ५, पुस–फागुन २०५८ को पृष्ठ ७ मा प्रकाशित अन्तर्वार्ता । साहित्यमा मकवानपुरको महक शृङ्खला ३५ का लागि साभारित)